पुस्तक चर्चा : दोलखाको शैक्षिक एवं राजनीतिक जागरणमा शिवाकोटी

1.32k
Shares

दोलखाको सुनखानी क्षेत्र शिवाकोटीहरुको मूल थलो हो । सुनखानीमा निर्मित मल्लकालीन चौघरा दरबारले समेत यसको पुष्टि हुन्छ । यिनै शिवाकोटी वंशका नाम लिनै पर्ने एक व्यक्तित्व हुनुहुन्थ्यो नन्दप्रसाद शिवाकोटी । उहाँले क्षमावतीको जङ्गलबाट दोलखाको उत्तरी क्षेत्रमा शैक्षिक एवं राजनीतिक जागरण ल्याउने काम गर्नुभएको थियो । उहाँका विविध पक्षलाई समेटेर ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी’ नामक स्मृति–ग्रन्थ प्रकाशित भइसकेको छ ।

राजनीति, व्यक्तित्व र योगदान अनि तस्वीर खण्ड गरी तीन खण्डमा विभाजित यस स्मृति–ग्रन्थमा नन्दप्रसाद शिवाकोटीका बारेमा विभिन्न व्यक्तिद्वारा लिखित ३३ वटा लेख समाहित छन् । संकेत कोइराला र अजयबाबु शिवाकोटीद्वारा सम्पादित उक्त पुस्तकमा उल्लेख भएअनुसार वि.सं. १९७२ मा जन्मनुभएका नन्दप्रसादले घरमै प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । पछि उहाँका दाजु महेश्वर शिवाकोटीले बनारसमा पढेर आएपछि उहाँबाटै संस्कृत एवं धर्मशास्त्रको व्यावहारिक ज्ञान प्राप्त गर्नुभएको ज्ञात हुन्छ ।

शैक्षिक जागरणमा नन्दप्रसाद :
नन्दप्रसाद शिवाकोटीकै नेतृत्वमा वि.सं. २००५ मा क्षमावतीमा स्कुल स्थापना गरिएको कुरा पुस्तकमा उल्लेख छ । क्षमावती स्कुलको संस्थापक मात्र नभएर उत्तरी भेगका केही अन्य विद्यालय स्थापनामा पनि क्रियाशील भएकै कारण उहाँ जिल्ला शिक्षा समितिमा समेत निरन्तर रहनुभएको रहेछ ।

पुस्तकमा उल्लेख भएअनुसार त्यतिखेर क्षमावतीमा विद्यालय खोल्ने प्रयोजनका लागि नन्दप्रसाद सेक्रेटरी भएर समिति बनेको थियो । त्यति बेला अध्यक्ष भन्ने चलन नभएकोले सेक्रेटरी भनिने रहेछ । प्राथमिक तहको स्वीकृति भने २००७ सालमा मात्र भएको र निरन्तरको पहलमा २०१८ सालमा माध्यमिक तहको स्वीकृति भएको रहेछ । पटके सहायता र स्थानीय स्रोतबाट सञ्चालन हुँदै आएपछि २०३१ मा मात्र क्षमावती स्कुलको खर्च पूर्णरुपमा सरकारले व्यहोर्न थालेको पुस्तकमा उल्लेख छ ।

हुन त क्षमावतीमा शिक्षाको जागरणका कुरा गर्दा खप्तड बाबाको पनि नाम जोडिन आएको छ । वि.सं. २००० फागुनतिर कास्मिरी साधु (खप्तड बाबा) कालिन्चोकबाट झरेर क्षमावतीमा बस्नुभएको रहेछ । त्यसैले औपचारिक नभए पनि पढाइको शुरुवात भने कास्मिरी बाबाबाट क्षमावतीको कुटीमा भएको नन्दप्रसादका नाति अजयबाबु शिवाकोटीले उल्लेख गर्नुभएको छ ।
तर औपचारिक रुपमा भने वि.सं. २००५ भदौमा कुटीडाँडामा निर्मित छाप्रामा शान्तनन्द जोगीबाट उद्घाटन गराई पढाइ शुरु भएकोमा पछि मानेधारा, थर्पुचौरमा सारिएको नन्दप्रसादकै बुहारी राजेन्द्रलक्ष्मीको भनाइ छ । यस कार्यको नेतृत्व नन्दप्रसादले नै गर्नुभएको पुस्तकले इंगित गरेको छ ।

हाल विद्यालय रहेको स्थानमा भवन बनाउँदा सामान ओसार्न त्यस बेला कुटीडाँडादेखि गोरुगाडा हिँडाउन मिल्ने गरी बाटो बाइएको रहेछ । गोरुगाडाको प्रयोग गरेको त्यस बेलाको यो बाटोमा अहिले मोटर दौडिने गरेको कुरा जो–कोहीलाई कथाजस्तो लाग्न सक्छ । जबकि त्यस बेला यो बाटोमा मोटर गुड्ला भनेर कसैले कल्पना पनि गरेको थिएन होला ।
स्कुल भवन निर्माण गर्न र शिक्षकको तलब भुक्तान गर्न आफ्नो गहना र खेतबारीसमेत बिक्री गर्नुपरेको कुरा नन्दप्रसादकै छोरा प्रा.डा. गणेशप्रसाद शिवाकोटीले उल्लेख गर्नुभएको कुराले जो–कोहीको मन छुन्छ ।

त्यस बेला शिक्षक थप्नुपर्ने र विद्यालय सुचारु रुपले चलाउन नन्दप्रसादले गाउँका सक्षम व्यक्तिबाट खेतबारी भूदानका रुपमा दिइने अभियान नै चलाउनुभएको रहेछ । उहाँ आफैंले १० पाथी धानको बीउ जाने मलेपुको सिमखेत विद्यालयको नाममा दिएपछि गाउँका अन्यबाट पनि यसरी दान दिने क्रम चलेको प्रसंगले नन्दप्रसाद शैक्षिक उन्नयनका लागि जे गर्न पनि पछि नपर्ने हुनुहुँदो रहेछ भन्ने देखिन्छ ।

समाजका अग्रज व्यक्तित्वहरुसहित नन्दप्रसादको अथक प्रयासले अञ्चल शिक्षा अधिकारीले क्षमावतीमा माध्यमिक तहको स्वीकृति दिएका रहेछन् । त्यसपछि २०२१ सालमा एस.एल.सी. परीक्षामा शतप्रतिशत उत्तीर्ण भई जिल्लाकै जेठो विद्यालयको रुपमा स्थापित हुन सफल भएको रहेछ क्षमावती स्कुल । यो कुराले शिवाकोटीहरुलाई मात्र नभएर यस क्षेत्रका सबैलाई गौरवान्वित महसुस गराउँछ ।

नन्दप्रसादको राजनीतिक संलग्नता ः
नन्दप्रसादलाई शैक्षिक अगुवाका रुपमा मात्र नभएर सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका प्रणेताका रुपमा समेत चिन्न सकिन्छ । उहाँ राजनीतिक व्यक्तित्व भए पनि विद्यालयमा भने राजनीतिक कुरा ठ्याम्मै नगर्ने, विद्यालयलाई राजनीतिबाट अलग राख्ने सोचको हुनुहन्थ्यो भन्ने कुरा क्षमावती स्कुलका पूर्व–प्रधानाध्यापक मिलन तुलाधरले यस पुस्तकमा उल्लेख गर्नुभएको छ ।

२००७ सालको सशस्त्र क्रान्तिमा नेपाली कांग्रेसका तर्फबाट लड्ने मुक्ति सेनाहरूलाई बन्दोबस्तीको व्यवस्था गर्ने भूमिका निर्वाह गरेर नन्दप्रसादले आफ्नो राजनीतिक कित्ता प्रस्ट पार्नुभएको थियो ।
पुस्तकमा उल्लेख भएअनुसार दोलखाको प्रशासनिक केन्द्र चरिकोट हान्न आएका मुक्ति सेनालाई स्थानीय स्तरमा समन्वय गरी रसद–पानीको जिम्मा नन्दप्रसादले नै लिनुभएको रहेछ । उहाँको घरछेउमै मुक्ति सेनाको खाने–बस्ने व्यवस्था मिलाइएको थियो रे !

पछि पनि कांग्रेसको नेतृत्वमा भएको भद्र अवज्ञा आन्दोलनमा दोलखाबाट नन्दप्रसादसहितका अगुवाहरु सहभागी भएको र यही आन्दोलनको दबाबमा राजा महेन्द्रले संसदीय चुनाव गराउन सहमत भएको कुरा दोलखाका एमाले नेता जीतवीर लामाले स्मृति–ग्रन्थमा लेख्नुभएको छ ।

भ्रष्टाचार गर्न खोज्नेहरूविरुद्ध पनि नन्दप्रसाद डटेर सामना गर्नुहुन्थ्यो रे ! २०११ सालमा गाउँमा जग्गा दर्ताका लागि आएका एक कर्मचारीले भ्रष्टाचारजन्य गतिविधि गरेपछि उहाँले ती कर्मचारीलाई स्थानीयको समर्थनमा हात बाँधेर प्रशासनको जिम्मा लगाउनुभएको प्रसंगलाई साहसिक कदम मान्न सकिन्छ ।

यस्तै २०१७ सालपछि पार्टी प्रतिबन्ध हुँदा पनि कांग्रेस पार्टीको दस्तावेज, चिठीपत्र आदिलाई सन्तोषी माताको पर्चा भनी उहाँले लुकाउनुपरेको तीतो यथार्थ उत्तिकै पठनीय र मार्मिक छ । तर पनि नन्दप्रसाद २०१६ जेठदेखि २०३५ सम्म साबिक क्षेत्र नम्बर ११ (हालको दोलखा) को नेपाली कांग्रेस सभापति हुनुभएको उहाँकै छोरा श्यामप्रसाद शिवाकोटीको भनाइ छ ।

समाज सेवा र पार्टीका काममा सक्रिय हुँदाहुँदै ६३ वर्षको उमेरमा वि.सं. २०३५ मा नन्दप्रसाद शिवाकोटीको निधन भयो । उहाँको स्मरणमा परिवारबाट नन्दप्रसाद शिवाकोटी स्मृति छात्रवृत्ति अक्षय कोषको स्थापनासमेत भइसकेको छ ।
नन्दप्रसाद–जानुका फाउन्डेसनद्वारा प्रकाशित यो पुस्तकलाई तत्कालीन परिवेश, ज्ञान र प्रेरणाको भरिपूर्ण दस्तावेजका रुपमा लिन सकिन्छ । नन्दप्रसाद एक व्यक्तिको मात्र नभएर त्यस बेलाको समाजकै ऐना हो यो पुस्तक । त्यसैले यो पुस्तक सबैका लागि पठनीय एवं सङ्ग्रहणीय छ ।