समानुपातिक उम्मेदवार ३ हजार १ सय ३५ कायम


काठमाडौं ।

आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका कुल उम्मेदवार ३ हजार १ सय ३५ कायम भएका छन् ।

निर्वाचन आयोगले मंगलवार समानुपातिकतर्फको अन्तिम नामावली सार्वजनिक गरेको हो । समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार प्रकाशित बन्दसूचीमा १ हजार ७ सय ७२ महिला र एक हजार ३ सय ६३ पुरूष उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणउपर अध्ययन सकाएर अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो । यसअघि सोमबार आयोगले ७६ जनाको नाम बन्दसूचीबाट हटाएको थियो ।

आयोगले ६३ वटा दलको तर्फबाट सो संख्यामा उम्मेदवार कायम गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । समानुपातिक प्रयोजनका लागि दल दर्ता गराएका १ सय राजनीतिक दलमध्ये ६३ दलले मात्रै तोकिएको समयसीमाभित्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए । आयोगले पुस १३ र १४ गते बन्दसूची बुझाउने समय दिएको थियो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १ सय ६५ र समानुपातिक तर्फबाट १ सय १० जना निर्वाचित हुन्छन् ।

समानुपातिक सूचीमा आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्छ । आदिवासी जनजातिमा २८ दशमलव ७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ ।

खस आर्यमा ३० दशमलव २८ प्रतिशत, थारूमा ६ दशमलव ५२, दलितमा १३ दशमलव ४४ प्रतिशत उम्मेदवार छान्नुपर्छ । मधेसीमा १६ दशमलव १५, मुस्लिममा ४ दशमलव ८९ र पिछडिएको क्षेत्रबाट कम्तीमा ४ दशमलब ०२ प्रतिशत उम्मेदवार छान्नुपर्ने प्रावधान रहेको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा समानुपातिक उम्मेदवार रहेका छन् ।