भारी हिमपातपछि कोरला सडक खुल्दै, लोमान्थाङसम्म यातायात सञ्चालन


काठमाडौ ।

मुस्ताङमा भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकको हिउँ पन्छाउने काम सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर आयोजनाको उपकरण प्रयोग गरी छुसाङदेखि लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ।

लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर सडकमा सशस्त्र प्रहरी र आयोजनाको टोलीले हिउँ पन्छाउने काम जारी राखेको छ।

आयोजनाका अनुसार एक–दुई दिनभित्र सो सडक पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। सडक खुल्न थालेसँगै माथिल्लो मुस्ताङको जनजीवन क्रमशः सामान्य बन्दै गएको र खाद्यान्न ढुवानी सहज भएको जनाइएको छ।