शहीदको सम्मान लोकतन्त्रलाई प्रभावकारी बनाउनुमा छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको लक्ष्य साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान हुने बताएकी छन् । शहीद दिवस ०८२ का अवसरमा जारी सन्देशमा उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।

उनले शहीदहरूको त्यागबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित नराखी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिइन् । साथै, शहीद दिवसले सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरिन् ।