बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अगाढि बढाउन आग्रह


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना तत्काल निर्माण कार्यमा लैजान सरकार तथा सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । धादिङ उद्योग वाणिज्य संघद्वारा आयोजित १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अब ढिलाइ नगरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) स्थापना भइसकेको उल्लेख गर्दै स्रोत अभाव भए निजी क्षेत्रमार्फत लगानी गर्न तयार रहेको बताउनुभयो ।

“नेपालमा जलविद्युत् विकासको अपार सम्भावना छ । जलविद्युत्को विकाससँगै खनिज, कृषि तथा अन्य व्यावसायिक क्षेत्र पनि विस्तार हुनेछन् । आवश्यक परे निजी क्षेत्र सहयोग गर्न तयार छ,” उहाँले भन्नुभयो । उहाँले धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य सम्भावनायुक्त क्षेत्रहरूमा समेत लगानी गर्न एनडीपी तयार रहेको उल्लेख गर्दै निजी क्षेत्रले समयमै, गुणस्तरीय र तोकिएको बजेटभित्र आयोजना सम्पन्न गर्ने क्षमता राख्ने बताउनुभयो ।

अध्यक्ष ढकालले गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा केही उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीपछि पनि निजी क्षेत्रले ती संरचना पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकेको बताउनुभयो ।