विकास बैंकहरूले ६ महिनामा साढे ३ अर्ब कमाए


काठमाडौं ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विकास बैंकहरू समग्र वित्तीय अवस्थामा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १५ वटा विकास बैंकले यो अवधिमा कुल ३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.७७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकहरूको कुल नाफा २ अर्ब ५५ करोड रुपैयाँ थियो । यस अवधिमा १५ वटा विकास बैंकमध्ये नारायणी विकास बैंक र सिन्धु विकास बैंक मात्र घाटामा छन् । नारायणी विकास बैंक ४ करोड ७३ लाख र सिन्धु विकास बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा रहेको छ ।

गत वर्ष घाटामा रहेका एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंक भने यस वर्ष नाफामा फर्किएका छन्। नाफाको आधारमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड २० लाख खुद नाफा कमाएको छ । यससँगै बैंकको प्रति सेयर आम्दानी १६.८० रुपैयाँ पुगेको छ ।

त्यसपछि क्रमशः गरिमा विकास बैंक ६३ करोड ५१ लाख, शाइन रेसुङ्गा विकास बैंक ४० करोड ४२ लाख, कामना सेवा विकास बैंक ३९ करोड ४५ लाख, ज्योति विकास बैंक ३१ करोड १२ लाख, सांग्रिला डेभलपमेन्ट बैंक ३० करोड २५ लाख, लुम्बिनी विकास बैंक २८ करोड ५३ लाख नाफामा रहेका छन् ।

नाफा वृद्धिदरमा लुम्बिनी अगाडि नाफा वृद्धिदरको हिसाबले लुम्बिनी विकास बैंक अग्रस्थानमा देखिएको छ । बैंकले गत वर्षको तुलनामा ९३.३२ प्रतिशतले नाफा वृद्धि गरेको हो। त्यसपछि सांग्रिला डेभलपमेन्ट बैंक ५३.९५ प्रतिशत, मुक्तिनाथ विकास बैंक ३३.५७ प्रतिशत, ज्योति विकास बैंक २४.४४ प्रतिशत, कामना सेवा विकास बैंक २२.३४ प्रतिशत, शाइन रेसुङ्गा विकास बैंक २२.१९ प्रतिशत, महालक्ष्मी विकास बैंकको नाफा वृद्धिदर भने सबैभन्दा कम ६.४१ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानीको आधारमा गरिमा र कामना सेवा विकास बैंकको २० रुपैयाँभन्दा बढी छ । मितेरी, सप्तकोशी, कर्पोरेट र ग्रिन डेभलपमेन्टको १० रुपैयाँभन्दा कम रहेको छ।