सिटिजन्स बैंकद्वारा स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतना वेबिनार


काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता व्यक्त गर्दै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक वेबिनार आयोजना गरेको छ । क्यान्सरबारे सही जानकारी प्रदान गर्ने, आम भ्रम हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।

भारतको प्रतिष्ठित मेदान्त द मेडिसिटी अस्पताल, गुडगांवसँगको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रमले यसको प्रभावकारिता र विश्वसनीयता अझै सुदृढ बनाएको छ ।

कार्यक्रमअन्तर्गत माघ १३, २०८२ (मंगलबार) सबै महिला कर्मचारीका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार आयोजना गरिएको थियो । उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालकी वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गर्नुभएको थियो। यस वेबिनारमा कुल ५ सय १३ जना महिला कर्मचारीको सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकले जनाएको छ ।

त्यसैगरी माघ १४, २०८२ (बुधबार) ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक वेबिनार सञ्चालन गरिएको थियो । उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले गर्नुभएको थियो । यस सत्रमा ५०९ जना कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए ।

दुवै वेबिनारले कर्मचारीलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ। साथै, आगामी दिनमा कर्मचारी, ग्राहक तथा अन्य सरोकारवाला निकायका लागि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

यसैक्रममा, उपचारका क्रममा थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई मेदान्त द मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।

विश्वकै प्रतिष्ठित “बैंक अफ द ईयर २०२४ र २०२५” को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ । साथै, नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट”, एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा”, तथा फ्रिलान्सरका लागि विशेष “फ्रिलान्सर सेविङ्स अकाउन्ट” पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा, क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था समेत लागू गरेको छ ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २ सय शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।