काठमाडौं ।
निर्वाचन आयोगले झापा क्षेत्र नं ५ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साहसहित पाँच जनालाई स्पष्टीकरण सोधेको छ ।
साहले सोही क्षेत्रका अर्का उम्मेदवार केपी शर्मा ओलीका सम्बन्धमा फेसबुकमा लेखेको स्टाटसलाई आधार बनाएर आयोगले स्पष्टीकरण सोधेको हो । उम्मेदवार साहले उम्मेदवार ओलीविरुद्ध विभिन्न आरोप लगाउँदै फेसबुक स्टाटस लेखेको भन्दै आयोगमा उजुरी परेको थियो । साहले ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू ओलीका सम्बन्धमा प्रयोग गर्नुभएको थियो ।
कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भन्दै यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पु¥याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको साहविरुद्ध उजुरीमा उल्लेख गरिएको छ । आयोगले त्यसबारे तीन दिनभित्र उत्तर दिन साहलाई भनेको छ । निर्वाचन आचारसंहिता घृणा फैलाउन नहुने, लाञ्छना लगाउन नहुने प्रावधान रहेको छ ।
त्यसै गरी आयोगले सुनसरी क्षेत्र नं १ का उम्मेदवार हर्क साम्पाङ र रूपन्देही क्षेत्र नं २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । निकोसल भुसालको सम्बन्धमा जेन–जी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएकोलगायतको विषयमा स्पष्टीकरण सोधिएको थियो । महेश बस्नेतको हकमा बालेनलाई छाउरा भनेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो । त्यसै गरी भक्तपुर क्षेत्र नं २ का उम्मेदवार जानुका पाठकलाई पनि स्पष्टीकरण साधिएको थियो । पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको थियो । त्यसै गरी, स्वास्थ्य स्वयमसेवक संघलाई अनुमति नलिई आचारसंहिता लागूपछि अधिवेशन गरेको भनेर स्पष्टीकरण सोधिएको थियो ।
उम्मेदवार र राजनीतिक दलका उत्तेजक अभिव्यक्ति सुरक्षा चुनौती विषय भनेर भनिरहेको स्थितिमा आयोगले त्यसरी अभिव्यक्ति दिनेहरूलाई धमाधम स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गर्नेलाई आयोग कडा रूपमा प्रस्तुत हुने भन्दै आयोगले आचारसंहिता पालना गरेको वा नगरेकोलाई सूक्ष्म तरिकाले निगरानी गर्दै आएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
जिल्लास्थित आचारसंहिता अनुगमनलाई आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी लिने, जसको विरुद्ध उजुरी परेको हो सो व्यक्तिसँग स्पष्टीकरण माग गर्ने अधिकार रहेको छ । त्यति गर्दा पनि आचारसंहिता उल्लंघनसम्बन्धी कार्य तत्कालै रोक्ने आदेश दिने तथा आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीको लागि सजाय प्रस्ताव गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिसमक्ष सिफारिस गर्ने अधिकार रहेको छ ।











प्रतिक्रिया