बालीको कृषि र सांस्कृतिक पर्यटनको मेरुदण्ड ‘सुबाक’

‘सुबाक’ र नेपालका सिँढीदार खेतबीचको साइनो

0
Shares

इन्डोनेसियाको बाली टापुमा प्रचलित ‘सुबाक’ खेती र सिँचाइ प्रणाली विश्वचर्चित छ । यो केवल धान फलाउने प्रविधि मात्र होइन, यो त मानिस, प्रकृति र परमात्माबीचको एउटा सुमधुर र पवित्र लय पनि हो । पहाडी भिरालो जमिनको छातीमा कुँदिएका सिँढीदार हरिया फाँटहरू र तिनको काखबाट संगीतमय धुन निकाल्दै बग्ने कञ्चन नहरहरू देख्दा लाग्छ, कुनै दैवी कलाकारले धर्तीको क्यानभासमा आफ्नो सर्वश्रेष्ठ कला पोखेको छ । नवौँ शताब्दीदेखि नै स्थानीय जनजीवनको अभिन्न अंग बनेको यो प्रणाली सन् २०१२ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि विश्वकै एउटा अनौठो र अचम्म बनेर झुल्किएको हो । यहाँ पानीलाई केवल भौतिक वस्तु मात्रै मानिँदैन, यसलाई देवताको वरदानका रूपमा समेत पुजिन्छ । बालीको प्रसिद्ध ‘त्रि हित करणा’ दर्शन अर्थात् ईश्वर, मानिस र प्रकृतिबीचको त्रिकोणात्मक सन्तुलन । यही सुबाक प्रणालीको मेरुदण्ड हो, जसले आधुनिक संसारलाई दिगो विकास र सामूहिक अस्तित्वको गहिरो पाठ सिकाउँछ ।

सुबाक क्षेत्र पुग्दा पर्यटकहरूलाई समयको गति नै थामिएको जस्तो एक अलौकिक अनुभूति हुन्छ । मन्दिरका पुजारी र किसानहरूले सँगै बसेर गर्ने पूजाआजा, सामूहिक छलफलबाट तय गरिने रोपाइँका शुभसाइतहरू र ढुंगाका प्राचीन कलात्मक ढोकामार्फत समान रूपमा बाँडिने पानीको व्यवस्थाले आधुनिक इन्जिनियरिङलाई समेत नतमस्तक बनाउँछ । हरेक वर्ष लाखौँ विदेशी पर्यटकहरू यी मनमोहक परिदृश्यको साक्षी बन्न, तस्बिरमा ती दृश्यहरू कैद गर्न र हजार वर्ष पुरानो जीवित सभ्यतालाई नजिकबाट छाम्न यहाँ ओइरिन्छन् । बालीको पर्यटनको मेरुदण्ड मानिने यो प्रणालीले खेतीपातीलाई कसरी एउटा सुन्दर उत्सव र विश्वस्तरको आकर्षक पर्यटकीय ‘ब्रान्ड’ मा रूपान्तरण गर्न सकिन्छ भनेर संसारकै उत्कृष्ट नमुना पेस गरेको छ ।

नेपालका पहाडी भेगमा रहेका हाम्रा गौरवशाली सिँढीदार खेतहरू र बालीको सुबाक प्रणालीबीच एउटा अद्भुत र भावनात्मक समानता भेटिन्छ । अन्नपूर्ण पदमार्गमा पर्ने घान्द्रुकका मनमोहक ग¥हाहरू हुन् वा लमजुङको भुजुङ र पसगाउँका मिलेका फाँटहरू, यिनको बनोट सुबाकसँग दुरुस्तै मेल खान्छ । सुबाकले पछ्याउने दर्शन जस्तै नेपालमा पनि कुल पूजा, मण्डली परम्परा र कुलोहरूलाई पवित्र मानेर सामूहिक रूपमा संरक्षण गर्ने गौरवमय इतिहास छ ।

लिच्छविकालीन र मल्लकालीन राजकुलोहरू हाम्रा सामूहिक व्यवस्थापनका ऐतिहासिक साक्षी हुन् । तर, बिडम्बना के छ भने बालीले आफ्नो परम्परागत कृषिलाई ‘सांस्कृतिक पर्यटन’ को मुकुट पहि¥याएर विश्वसामु गौरवका साथ उभ्यायो, जबकि हामीले हाम्रा ती सुन्दर फाँटहरूलाई केवल खाद्यान्न उत्पादन गर्ने कष्टकर थलोमा मात्र सीमित राख्यौँ । मुस्ताङका सुक्खा फाँटमा सिँचाइ गर्ने प्राचीन विधि वा पाथीभरा क्षेत्रका भिरालो जमिनमा गरिने मिहिनेतलाई सुबाकको जस्तै सांस्कृतिक स्वरूप दिने हो भने त्यहाँको माटाले सुन मात्र होइन, विश्वभरका पर्यटकहरूको आगमनबाट डलर फलाएर नेपालको अर्थतन्त्रमा क्रान्ति पनि ल्याउन सकिन्छ ।

सुबाकको चर्चाको एउटा बलियो कडी भनेको सामूहिक अनुशासन र न्यायपूर्ण व्यवहार हो । पानीको बाँडफाँडमा त्यहाँ कुनै कलह देखिँदैन । किनकि मन्दिरका पुजारी र समुदायले कडा अनुशासन र पारदर्शी नियमको पालना गर्छन् । नेपालमा पनि कुनै समय कुलो प्रणालीमा यस्तै सामूहिक भावनाको संस्कृति बलियो थियो, जुन समयको अन्धवेगसँगै विस्तारै ओझेल पर्दै गएको छ । सुबाकले हामीलाई सिकाउने मुख्य कुरा के हो भने प्रविधिले मात्र विकास सम्भव छैन, त्यसलाई प्राण भर्न त सामाजिक संस्कार र मूल्यमान्यताहरू नै चाहिन्छ । बालीले आफ्नो खेती प्रणालीलाई एउटा ‘जीवन्त संग्रहालय’ मा बदलेको छ, जुन नेपालको ग्रामीण विकास, होमस्टे पर्यटन र सांस्कृतिक प्रवद्र्धनका लागि एउटा प्रेरणादायी मार्गचित्र बन्न सक्छ । हाम्रा सिँढीदार खेतहरू केवल खेती गर्ने ठाउँ मात्र होइनन्, यिनीहरू त हाम्रा पुर्खाले सिर्जना गरेका जीवित इतिहास हुन् जसलाई विश्व पर्यटनको बजारमा ‘सुबाक’ झैँ चम्काउनु आजको आवश्यकता हो ।