रेड बुल नेपाल स्पोर्ट्स समिट २०२६ को टाइटल स्पोन्सर


काठमाडौं ।

आगामी फेब्रुअरी ५ मा आयोजना हुन गइरहेको बहुप्रतीक्षित ‘नेपाल स्पोर्ट्स समिट २०२६’ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रूपमा बहुराष्ट्रिय ब्रान्ड रेड बुल घोषणा गरिएको छ ।

यो साझेदारीले विश्वकै प्रतिष्ठित ऊर्जा पेय ब्रान्ड र नेपालको पहिलो वृहत् अन्तर्राष्ट्रिय खेल नेतृत्व मञ्चलाई एकै ठाउँमा ल्याएको हो । यस सहकार्यको मुख्य लक्ष्य नेपालको विस्तारित खेलकुद क्षेत्रमा विकास, युवा सहभागिता र अन्तर्राष्ट्रिय लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्नु रहेको छ ।

समिटमा कूटनीतिज्ञ, सरकारी अधिकारी, खेल महासंघका प्रतिनिधि, कर्पोरेट कार्यकारी, खेलाडी र लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएका छन् । कार्यक्रम अवधिभर खेल कूटनीति, खेल पर्यटन, पूर्वाधार विकास, व्यवसायीकरण र ग्रासरुट विकास जस्ता विषयहरूमा उच्चस्तरीय छलफल हुनेछ ।

यस साझेदारीका विषयमा बोल्दै सारस बेभरेजेज, रेड बुल नेपालका जेनेरल म्यानेजर (सेल्स एण्ड मार्केटिङ) निर्भिक प्रधानले समिटसँगको सहकार्य रेड बुलको विश्वव्यापी खेल इकोसिस्टमलाई समर्थन गर्ने र खेलाडीहरूलाई सशक्त बनाउने उद्देश्यसँग मेल खाएको बताउनुभयो । उहाँले यो ऐतिहासिक मञ्चले नयाँ पुस्ताका खेलाडी र खेल नेतृत्वकर्तालाई प्रेरित गर्दै नेपालको खेल क्षेत्रको भविष्य निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी समिटका आयोजक आमिर अख्तरले रेड बुललाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउनु समग्र नेपालको खेल उद्योगका लागि एउटा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले रेड बुलको विश्वव्यापी अनुभवले नेपाललाई खेल पर्यटन र लगानीको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने बताउँदै यो सहकार्यले समिटको मञ्चभन्दा बाहिर पनि दीर्घकालीन प्रभाव पार्ने लक्ष्य लिएको जानकारी दिनुभयो । रेड बुलको समर्थनसँगै समिटमा अन्तर्राष्ट्रिय वक्ताहरू, नेटवर्किङ प्लेटफर्म र रणनीतिक साझेदारीका अवसरहरू समावेश हुनेछन्, जसले नेपालको खेल पूर्वाधार र विश्वव्यापी उपस्थितिलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।