डा. कोइरालाले युवामुखी राजनीति र क्लिन पोलिटिक्समा जोड दिए


विराटनगर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफुले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् ।

विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेन जी आन्दोलनअघि बाटै पार्टी भित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्धामा आफुले काम गरेको बताए । जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू “क्यापेन फर क्लिन पोलिटिक्स” को अभियानमा लागेको बताए ।

कोइरालाले भने, “युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन ।” जेन जी आन्दोलन भन्दा धेरै अघि देखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफुले जोड दिदै आएको बताउँदै उनले भने- “मैले विगतमै युवालाई तीन क्लष्टरमा बाडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ ।

जस अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरुलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो ।

” युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, “मुलुकलाई विकाससंगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।”