सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु


काठमाडौं ।

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ। धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन्।

सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेशसभा सदस्य ५१ गरी कुल २२४ जना मतदाता छन्। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा निर्वाचन भइरहेको छ। तीमध्ये कोशी प्रदेशको खस आर्यतर्फ एक पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि मतदान हुँदैछ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।