काठमाडौँ ।
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि मतदान सुरु भएको छ । कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध भएकाले बाँकी १७ पदका लागि देशभर मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्य १७ पदका लागि सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
मतदान केन्द्रहरू कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा तोकिएका छन् । यस्तै गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा घोराही, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।











प्रतिक्रिया