म्याग्दी ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालमा प्रविधि र नवप्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
शिक्षा मन्त्रीबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएका पुनले त्रिभुज चुनाव चिह्न पाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालमा प्रविधिको विकास र नवप्रवद्र्धनलाई सरकारले ध्यान दिन नसक्दा अर्थतन्त्रको विकास नभएको बताउनुभयो । उहाँले २०४६ सालपछि हालसम्म बनेका कुनै पनि सरकारहरूले देशका युवा प्रतिभाहरूलाई स्वदेशमै राखेर आविष्कारको काममा लगाउन नसक्दा बाध्यताले विदेश पलायन हुनुपरेको बताउनुभयो ।
उम्मेदवार पुनले आफू मन्त्री पदमा रहँदा नेपालको शिक्षा क्षेत्रको सुधार गर्नका लागि तयार गरेका विधेयकहरूलाई अध्यादेशको रूपमा जारी गर्न राष्ट्रपतिले सहयोग नगरेको र आफ्नो योजना विफल भएपछि त्यसलाई टुङ्गोमा पु¥याउन उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपालको विद्यालय शिक्षा, व्यावसायिक शिक्षा र विश्वविद्यालय शिक्षामा रहेका बेतिथिहरू हटाउन तथा सुधार गर्न अध्यादेशमार्फत कार्यान्वयन गर्न बनेका तीनवटा ऐन र चारवटा नियमावलीहरू अलपत्र परेको बताउनुभयो ।
शिक्षामन्त्री भएर तयार गरेका विधेयक र नियमावलीलाई आगामी संसद्बाट कार्यान्वयन गराउनका लागि मन्त्री पदबाट राजीनामा दिएर आफू उम्मेदवार बनेको पुनको भनाइ छ । नेपालको शिक्षा क्षेत्र राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेकाले त्यसलाई सुधार गर्नका लागि विद्यमान कानुन र ऐनहरूलाई परिमार्जन गर्न आवश्यक रहेकाले त्यसलाई टुङ्गोमा पु¥याउने प्रयास गरेको उहाँले बताउनुभयो । पुनले भन्नुभयो– ‘पहिले राष्ट्रपतिले अध्यादेश ल्याउन सकरात्मक देखिनुभएको थियो । अन्तिममा दुई महिना लगाएर विज्ञ टोलीसमेतको सहयोगमा तयार गरेका ऐन र नियमावलीका मस्यौदाहरू अघि बढ्ने स्थिति रहेन निर्वाचन आचारसंहिताको कारण पनि । त्यसैले आगामी संसद्बाट मात्रै त्यसलाई अघि बढाउन सकिने भएकाले राजीनामा दिएर म निर्वाचन लड्न आएको हुँ ।’
स्वतन्त्र उम्मेदवार पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थालाई हटाउनुपर्ने र हरेक विश्वविद्यालयको फरकफरक शिक्षा सेवा आयोगलाई खारेज गरेर एउटै विश्वविद्यालय शिक्षा आयोग बनाउन आवश्यक रहेको समेत बताउनुभयो । पुनले नेपालमा प्रविधि र नवप्रवद्र्धनलाई प्राथमिकतामा राखेर उद्यमीलाई प्रोत्साहन गरी आर्थिक विकास गरेर युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको समेत बताउनुभयो ।
उहाँले आफुले म्याग्दी र नेपालको हितमा काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । वर्तमान सरकारमा शिक्षा मन्त्रीबाट राजीनामा दिएर जिम्मेवारीबाट भागेको नभई आफू मन्त्री हुँदा गर्न नसकेका कामहरू पूरा गर्नका लागि उम्मेदवार बनेर चुनावी मैदानमा आएको स्पष्ट पार्नुभयो ।
शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज चुनाव चिह्न प्रदान गरेपछि उम्मेदवार पुनले शनिवार बेनीको वीरेन्द्रचोकस्थित चौतारीको अगाडि पत्रकार सम्मेलन गरेर प्रतिबद्धतासमेत घोषणा गर्नुभएको छ । आफ्ना चुनावी प्रतिबद्धताहरू घोषणा गर्दै उहाँले समग्र देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएका रास्वपा म्याग्दीका सभापति युवराज रोकाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्नुभएको थियो ।
आफ्नो उम्मेदवारी फिर्ता लिएर निवर्तमान शिक्षामन्त्रीसमेत रहनुभएका स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्ने भने पनि रास्वपा उम्मेदवारी फिर्ता लिने समयभन्दा ढिलो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सभापति रोकाको उम्मेदवारी भने कायमै रहेको छ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनसहित विभिन्न दलका १२ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।











प्रतिक्रिया