नेपालको ऐतिहासिक जित

1.5k
Shares

काठमाडौं ।

नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ । शनिवार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । यो नेपाली सिनियर महिला क्रिकेटका लागि ऐतिहासिक जित पनि हो ।

सिनियर महिला क्रिकेट टोलीले टेस्ट खेल्ने राष्ट्रविरुद्ध जित हासिल गरेको यो पहिलो अवसर हो । तर, उमेर समूहमा भने यू–१९ महिला टोलीले टेस्ट खेल्ने टोलीलाई भने हराइसकेको छ । साथै यो जितले नेपालको सुपर सिक्समा छनोट हुने सम्भावना पनि जीवित भएको छ । यसअघि लगातार दुई खेल हारेर नेपाल कठिन मोडमा परेको थियो । यदि यो खेल हारेको भए नेपाल समूह चरणबाटै बाहिरिने खतरा स्थितिमा थियो । तर, नेपालले जित्न सफल भयो । सुपरसिक्समा पुग्न सोमबार हुने स्कटल्यान्डविरुद्धको खेलमा नेपालका लागि ठूलो अन्तरको जित आवश्यक छ ।

पूजाको अर्धशतक
जारी ग्लोबल छनोटमा पहिलो जित हासिल गराउन उपकप्तान पूजा महतोले अर्धशतक प्रहार गर्नुभयो । उहाँको सानदार ब्याटिङका कारण नेपालले जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य ४ विकेट गुमाएर १९.३ ओभरमा प्राप्त गरेको हो । प्लेयर अफ द म्याच पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित ५२ रनको अविजित पारी खेल्नुभयो ।

यस्तै, नेपालका लागि कप्तान इन्दु वर्माले २२ रन, ओपनर ब्याटर विन्दु रावलले १५ रन र सीता रानामगरले ११ रनको योगदान दिनुभयो । जिम्बावेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिनुभएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय २९ रनको योगफल बनाएको थियो । नेपालको तर्फबाट रिया शर्माले सर्वाधिक २ विकेट लिनुभयो भने कविता कुँवर, रुविना क्षेत्री, पूजा महतो र सीता रानामगरले एक–एक विकेट हासिल गर्नुभयो ।