पदाधिकारीले प्रधानमन्त्रीसँग परामर्श गर्दै

564
Shares

– २३ दिनदेखिको तालाले त्रिवि अन्योलमा

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको २४ दिनपछि पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीसँग परामर्श गर्ने भएका छन् । लामो समय तालान्दीका कारण त्रिविका पदाधिकारीले कार्यालय प्रवेश गर्न सकेका छैनन् भने पदाधिकारी र सोअन्तर्गत कार्यालयको सबै काम रोकिएको छ ।

विभिन्न तहका परीक्षाको तयारी गर्ने समयमा पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएपछि सबै काम ठप्प भएको छ । उपकुलपति कार्यालयअन्तर्गत योजना तथा मूल्याङ्कन, अन्तर्राष्ट्रिय सम्बन्ध र कार्यकारी परिषद् सचिवालयको सबै काम रोकिएको छ ।

रेक्टर कार्यालयअन्तर्गत अनुसन्धान निर्देशनालय, अनुगमन र पाठ्यक्रम र रजिस्ट्रार कार्यालयअन्तर्गत सबै महाशाखाबाट हुने काम रोकिएको छ । विद्यार्थी संगठनले गएको शुक्रवार तीन पदाधिकारीलाई त्रिवि परिसर प्रवेशमा रोक लगाउँदै कालो ब्यानर टाँसेका छन् । त्रिवि परिसरभित्रै छिर्न नपाएपछि गएको शुक्रवारबाट तीनै पदाधिकारी कीर्तिपुर पुगेका छैनन् ।

विद्यार्थी संगठनले कार्यालय प्रवेशमै रोक लगाएर भौतिक कारबाही गर्नेसम्मको धम्की दिएपछि त्रिविका पदाधिकारीहरूले कुलपति कार्कीसँग भेट्ने तयारी गरेका छन् । ‘कुलपति एवं प्रधनमन्त्रीसँग भेट गरी उहाँकै निर्देशनअनुसार ताला खोल्ने प्रक्रिया अघि सार्ने तयारी गर्नेछौं’ –त्रिविका एक पदाधिकारीले भने ।

सर्वोच्च अदालतले विश्वविद्यालयमा तालाबन्दी नगर्न दिएको आदेशको बेवास्ता गर्दै नेकपा निकट विद्यार्थी संगठनले तालाबन्दी जारी राखेको छ । उपकुलपति प्राडा दीपक अर्यालले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गरी ताला खोल्ने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सकभर वार्ताबाटै समस्या समाधान गर्नेछांै, नभए प्रशासनको सहयोगमा ताला खोल्नेछौं ।’ यसअघि दुईपटक ताला फोड्ने प्रयास गर्दा पदाधिकारीबीच कुरा मिल्न सकेको थिएन । अहिले उपकुलपतिबाहेक दुई पदाधिकारी ताला खोल्ने पक्षमा छन् ।

उता, अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले २३ दिन अगाडिदेखि शुल्क शोषणविरुद्ध थालेको आन्दोलनप्रति उपेक्षा गर्दै विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरू आजको दिनसम्म कुनै वार्ता, संवाद र छलफलमा नआउनुले विद्यार्थीका शैक्षिक समस्या र मुद्दालाई बेवास्ता गरेको र आफैँले गरेको सहमतिलाई कार्यान्वयनमा नलगी विश्वविद्यालयलाई अस्तव्यस्त बनाउन उद्यत रहेको आरोप लगाउँदै हिजो शनिवार मशाल जुलुश प्रदर्शन गरेका थिए ।

उनीहरूले शुल्क शोषक, शैक्षिक दलाल, एवं बौद्धिक माफियाविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भन्दै मशाल जुलुश प्रदर्शन गरेका थिए । दुई पक्षबीच संवादबाट माग पूरा गर्ने तयारी भइरहँदा विद्यार्थी संगठन थप आक्रोशित भएका छन् ।
अदालतको आदेशको आधारमा ताला खोल्न सक्ने विकल्प हुँदाहुँदै त्रिविले ताला खोल्न नसकेकोमा पदाधिकारीको आलोचना बढेको छ ।

पुस १७ देखि पदाधिकारीको कार्यकक्ष बन्द भए पनि त्रिवि परिसरमा बसेर काम गरिरहेको जानकारी पाएपछि थप दबाब दिन संगठनले प्रवेश निषेध गरेको हो । संगठनले माग पूरा नभएसम्म ताला नखोल्ने स्पष्ट पारेको छ । क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्वशान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएकाले तालाबन्दी गरेको हो ।