भाइरल ज्वरोले ज्यान गुमाउने बढे

846
Shares

मुगु ।

मुगुको सोरु गाउँपालिमा–९ सिड्डी गाउँमा फैलिएको भाइरल ज्वरोका कारण हालसम्म एकै गाउँका ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण मृत्यु हुनेमा ७२ वर्षीय रुद्रवीर रोकाया, ७० वर्षीया पाउसरा रोकाया र ७१ वर्षीया काली कोइराला रहेको स्थानीयले बताएका छन् ।

विगत एक सातादेखि ज्वरोको संक्रमण तीव्र रूपमा फैलिँदै गएको र उपचारको अभाव र स्वास्थ्य संस्थाको दूरी टाढा भएकाले समयमै उपचार नपाउँदा ज्यान गएको स्थानीय हंसवीर रावलले बताउनुभयो ।

उहाँका अनुसार गाउँभरिका अधिकांश मानिस बिरामी परेका छन् । अचानक ज्वरो आउने, टाउको दुखाइ, शरीर दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिन थालेपछि गाउँमा त्रास फैलिएको छ । त्यस्तै, सोरु गाउँपालिका–७ बुम्चकी ७९ वर्षीया रिउँली विष्टको समेत चिसो र रुघाखोकीले मृत्युु भयको छ । छायानाथ रारा नगरपालिका–२ की ७२ वर्षीया चल्लिसरा मल्लको समेत चिसो र रुघाखोकीले मृत्यु भएको मृतकका आफन्त धनबहादुर मल्लले बताउनुभयो ।

यस घटनापछि स्थानीय बासिन्दाले तत्काल प्रभावकारी स्वास्थ्य सेवा, औषधि र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सम्बन्धित सरोकारवालाहरूसँग माग गरेका छन् । सोरु गाउँपालिकाको स्वास्थ्यकर्मीको टिम सिड्डी गाउँमा पुगिसकेको वडा अध्यक्ष सागर शम्सेरले बताउनुभयो । उहाँले गाउँमा के भएको हो सत्य कुरा स्वास्थ्यकर्मीबाट आउने बताउनुभयो । प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पठाइसकेको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।

जिल्लामा चिसो बढ्दै जाँदा भाइरलको प्रभाव कायमै छ । चिसोकै कारण मंसिरको तेस्रो सातातिर बाम गाउँका ५ जनाको मृत्यु भएको थियो । हाल उक्त बस्तीमा भाइरल नियन्त्रणमा आइसकेको छ । चिसोका कारण बुढाबुढी, बालबालिका र दमका बिरामी निकै प्रभावित भएको र हिमपातसँगै चिसो बढेपछि बिरामीको संख्या बढ्ने स्वास्थ्यकर्मी राजन्द शाहीले बताउनुभयो ।