समानुपातिक सूचीका तीन उम्मेदवारविरुद्ध उजुरी


काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा दलहरूले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारविरुद्ध उजुरी परेको छ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट क्रम सङ्ख्या ९७ मा रहेका सिरहाका चन्द्रेश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट क्रम सङ्ख्या ६२ मा रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट क्रम सङ्ख्या ३७ मा रहेका धनकुटाका कुमारबहादुर थापाविरुद्ध उजुरी दर्ता भएको हो।

आयोगका सचिव कृष्णबहादुर राउतद्वारा जारी विज्ञप्तिअनुसार मण्डल आदिवासी समुदायका व्यक्ति भएकाले मधेसी कोटामा राख्न नमिल्ने भनी उजुरी परेको छ। यस्तै, जीवन लामा अपाङ्गता नभएको भए पनि अपाङ्गता कोटामा राखिएको दाबी गर्दै उजुरी गरिएको छ। कुमारबहादुर थापाविरुद्ध भने उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषय अख्तियारमा विचाराधीन रहेको भन्दै उजुरी परेको छ।

उजुरी परेका उम्मेदवारलाई माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सबुद प्रमाणसहित आयोगमा उपस्थित हुन आयोगले सूचित गरेको छ। तोकिएको समयमा उपस्थित नभए कानुनबमोजिम कारबाही हुने आयोगले जनाएको छ।