न्यून चापीय प्रणालीको प्रभावः पहाड–हिमालमा बादल, कतै हल्का वर्षा र हिमपात


काठमाडौँ।

नेपालमा हाल न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने अनुमान गरिएको छ।

राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।