रोडम्यान सर्वाधिक कमाउने महिला खेलाडी


एजेन्सी।

अमेरिकाकी फुटबलर ट्रिनिटी रोडम्यान विश्वकै सर्वाधिक कमाउने महिला खेलाडी बनेकी छन् । वाशिंगटन स्पिरिटले बोनससहित २ मिलियन डलरमा अनुबन्ध गरेपछि रोेडम्यान विश्वकै सर्वाधिक कमाउने महिला खेलाडी बनेकी हुन् ।

२३ वर्षीया फरवार्डको यो क्लबसँगको सम्झौताअवधि ३ वर्षको लागि हुनेछ यानि उनी सो क्लबमा सन् २०२८ सम्म खेलिनेछ । यो सम्झौताअघि बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमती सर्वाधिक कमाउने महिला खेलाडी थिइन् ।

रोडम्यानले नेसनल वोमेन्स सकर लिग (एनडब्ल्यूएसएल) मा सन् २०२१ मा डेब्यु गरेकी थिइन् । उनले पहिलो सिजनमै उपाधि जित्न मद्दत पनि गरेकी थिइन् । उनलाई एनडब्ल्यूएसएल रूकी अफ द एयरसमेत घोषित गरिएको थियो ।

रोडम्यानले अमेरिकी नेसनल वोमेन्स टोलीका लागि ४७ खेलमा सहभागिता जनाएकी छन् । सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी उनले हालसम्म ११ गोल गरेकी छन् । गत पेरिस ओलम्पिक्स २०२४ मा अमेरिकी महिला टोलीले स्वर्ण जित्दा उनको ३ गोल योगदान थियो ।

रोडम्यानले फुटबल छानिन्

रोडम्यान नेसनल बास्केटबल एसोसिएसन (एनबीए) का पूर्व खेलाडी डेनिस रोडम्यानकी छोरी हुन् । उनका बुबा डेनिस डेट्रोइट पिस्टन्स र शिकागो बुल्सबाट खेल्दै ५ वटा एनवीए च्याम्पियनसिप जितेका राम्रा बास्केटबल खेलाडी थिए । यसको बावजुद उनले फुटबल खेलमै चासो लिइन् । उनले चार वर्षको उमेरदेखि नै फुटबल खेल्न शुरु गरेकी हुन् ।