सुन्तलामा आत्मनिर्भर बनाउने किसान सहकारीको


काठमाडौँ
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले डोटीको जोरायल गाउँपालिकामा व्यवसायिक सुन्तला खेती सम्बन्धि तालिम शुरु गरेको छ । सहकारीले सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको जोरायल गाउँपालिकामा रहेका अफ्ना ४५ जना कृषक सदस्यलाई व्यवसायिक सुन्तला उत्पादन सम्बन्धि २ दिने तालिमको आयोजना गरेको हो ।

परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका सदस्यको क्षमता अभिवृद्धि गरि व्यवसायिक सुन्तला कृषक बनाई सदस्यको आय–आर्जन बढाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताउनु भयो ।
तालिमबाट कृषक सदस्यले सुन्तला रोप्ने देखी बजारीकरण सम्मको सैद्धान्तिक ज्ञान हाँसिल गर्न सक्ने तालिमका प्रशिक्षक कृषि विकास प्रमूख प्रदीप साउँदले बताउनु भयो । “सहभागीहरुलाई सैद्धान्तिक ज्ञान सँग–सँगै सुन्तलाबारीमा लगेर व्यवहारिक प्रशिक्षण समेत दिने छौ ।” – प्रशिक्षक साउँदले बताउनु भयो ।
विहिबार तालिमको उद्घाटन समारोहमा बोल्दै सहकारीका जोरायल शाखा प्रमूख किरण कुमरी चौधरीले सदस्यलाई आत्मनिर्भर बनाउँने अभियान यस तालिम मार्फतसञ्चालन भएको बताउनुभयो । उक्त समारोहमा उपस्थित कृषि प्राविधिक राम सिंह बोहराले तालिमबाट सुन्तला उत्पादन तथा स्थानियको आम्दानी बृद्धिहुने अपेक्षा गर्दै सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उद्घाटन समारोह संस्थाका विभागिय प्रमूख भोजराज भट्टराईको अध्यक्षतामा भएको हो ।

२०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्था नेपालकै अग्रणी सहकारी संस्था हो । हाल संस्थाले ३ वटा व्यवसायीक युनीट मार्फत सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशमा रहेका झण्डै ९३ हजार सदस्यलाई सेवा दिदै आएको छ ।