देउवा–खड्का पक्षले राष्ट्रिय सभाको निर्वाचनपछि राष्ट्रिय भेला गर्ने


काठमाडौं ।

नेपाली कांग्रेसको देउवा–खड्का पक्षले राष्ट्रिय सभाको निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि तथा उनकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रिया अघि बढेपछि नेतृत्वबाट विस्थापित तत्कालीन संस्थापन पक्षले भेला बोलाउन लागेको हो।

आयोजित भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। भेलाबाट पार्टीको भावी राजनीतिक दिशाबारे केही महत्वपूर्ण निर्णयसमेत लिने तयारी गरिएको छ।

देउवा–खड्का पक्षले नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको संरक्षण गर्दै पार्टीलाई अघि बढाउन तथा नेतृत्व निरंकुश बन्न नदिन भेला आवश्यक परेको दाबी गरेको छ। यस समूहले सभापति गगन थापाले निर्णय प्रक्रियामा एकलौटी शैली अपनाउन खोजेको आरोप पनि लगाएको छ।

पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष थप चर्किंदै गएको सन्दर्भमा हुन लागेको यो भेलालाई कांग्रेसको भावी राजनीतिक समीकरण र संगठनात्मक दिशाका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ।