फलेबासको श्री मोति पुस्तकालयद्वारा ६३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

पश्चिम क्षेत्रकै पुरानो तथा ऐतिहासिक शैक्षिक संस्थाको रूपमा परिचित श्री मोति पुस्तकालय


काठमाडौँ।

फलेबास ले आफ्नो ६३औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम संविधानसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विभागका विभागीय प्रमुख डा. लिला न्याईच्याईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। वार्षिकोत्सव समारोहको अवसरमा पुस्तकालयद्वारा प्रकाशित साहित्यिक पत्रिका “मोति” अंक–३ समेत औपचारिक रूपमा विमोचन गरिएको थियो।

विमोचनपश्चात् सम्बोधन गर्दै प्रमुख अतिथि डा. न्याईच्याईले ग्रामीण क्षेत्रमा स्थापना भएर पनि निरन्तर रूपमा राम्रोसँग सञ्चालन हुँदै आएको मोति पुस्तकालयको प्रशंसा गर्नुभयो। उहाँले समयको मागअनुसार पुस्तकालयहरूले पनि प्रविधिमैत्री बन्दै डिजिटल पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य तथा पूर्व प्रदेश मन्त्री श्री विकास लम्सालले आफू पनि यही पुस्तकालयमा रहेका पुस्तकहरू पढ्दै हुर्किएको स्मरण गर्दै मोति पुस्तकालयले समग्र पश्चिम क्षेत्रमा शिक्षा र चेतनाको उज्यालो फैलाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

वार्षिकोत्सव समारोहमा पुस्तकालय स्थापना कालदेखि हालसम्म यसको संरक्षण, विकास र उन्नयनका लागि निरन्तर योगदान पुर्‍याउँदै आएका श्री भोलानाथ शर्मा, पदम पाणी गौडेल तथा पूर्ण प्रसाद सापकोटालगायतका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै, पछिल्लो एक वर्षभित्र सबैभन्दा उत्कृष्ट पाठकहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा जगन्नाथ प्रसाद लम्साल, भोलानाथ शर्मालगायत निबर्तमान पुस्तकालय ब्यबस्थापन समिति अध्यक्ष श्री कृष्णराज पौडेल लगायत वक्ताहरूले मोति पुस्तकालयको ऐतिहासिक पृष्ठभूमि, यसको महत्व तथा वर्तमान सन्दर्भमा पुस्तकालयको भूमिकाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।

वार्षिकोत्सव कार्यक्रममा पुरस्कार वितरण, नृत्य–नाटक, भजन तथा विविध सांस्कृतिक गतिविधिहरू समेत प्रस्तुत गरिएका थिए। कार्यक्रमको सञ्चालन सचिव इन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य ल्याम बहादुर दर्जीले प्रस्तुत गर्नुभएको थियो। नयाँ कार्यसमिति निर्वाचित ६३औँ वार्षिकोत्सवकै अवसरमा पुस्तकालय व्यवस्थापनका लागि नयाँ कार्यसमिति पनि निर्वाचित गरिएको छ।

हरि प्रसाद पोखरेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष : पूर्ण प्रसाद सापकोटा सचिव : इन्द्र प्रसाद सापकोटा कोषाध्यक्ष : सिताराम सापकोटा रहनुभएको छ। त्यसैगरी, गोविन्द सापकोटा, ल्याम बहादुर दर्जी, नेत्र बराल, लुकास सुबेदीलगायत सदस्यका रूपमा निर्वाचित हुनुभएको छ। कार्यक्रमले मोति पुस्तकालयको गौरवशाली इतिहासलाई स्मरण गर्दै भविष्यमा अझ प्रभावकारी, समावेशी र प्रविधिमैत्री पुस्तकालय निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।