खेलकुदको नाममा व्यापार मेला


हेटौंडा ।

हेटौंडामा आयोजना हुने भनिएको खेलकुद महोत्सव बृहत् व्यापार मेलाले कानुनी, आर्थिक र नैतिक प्रश्न उठाएको छ । खेलकुद प्रवद्र्धनका लागि राज्यबाट बजेट पाउने संस्थाले व्यापारिक मेला ठेक्कामा दिएपछि यसको पारदर्शिता र उद्धेश्यमाथि गम्भीर शंका उत्पन्न भएको हो ।

नेपाल मेला महोत्सव संघका अनुसार मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटांैडा खेलकुद समितिको संयुक्त आयोजनामा माघ २८ देखि फागुन १२ गतेसम्म महोत्सव गर्ने तयारी छ । तर, खेलकुद विकास समितिको विधानमा व्यापार मेला, मनोरञ्जनात्मक खेल, रेसिङ खेल तथा जुवासँग मिल्दोजुल्दो खेल सञ्चालन गर्ने स्पष्ट व्यवस्था नरहेको संघको दाबी छ ।
संघले विधानमा उल्लेख नभएका कार्यक्रम सञ्चालन गरिनु गैरकानुनी भएको र यसले खेलकुद विकासका लागि छुट्याइएको सरकारी बजेट दुरुपयोग हुने जोखिम रहेको बताएको छ ।

प्राप्त जानकारीअनुसार उक्त महोत्सव भारतको मोतिहारी निवासी अजय चौधरीलाई ९० लाखमा ठेक्कामा दिइएको छ । तर, महोत्सव अवधिभर अनुमानित १० करोड बढी कारोबार हुने संघको दाबी छ । संघले ठेक्का रकम नेपालमै सीमित रहने तर मेलाभित्रको अधिकांश नाफा विदेशी ठेकेदारमार्फत भारत लैजाने संरचना बनेको भन्दै यसलाई आर्थिक अपारदर्शिताको उदाहरण मानेको छ ।

यसले स्थानीय व्यवसायी, घरेलु उद्योग र स्थानीय उत्पादनलाई अवसर नदिएको आरोप लगाइएको छ ।महोत्सवभित्र जुवासरहका खेल सञ्चालन हुनसक्ने आशंकासमेत व्यक्त गरिएको छ । यस्ता गतिविधिले सामाजिक विकृति फैलाउने, अपराधको जोखिम बढाउने र शान्तिसुरक्षामा चुनौती सिर्जना गर्ने संघको भनाइ छ ।

संघले यस्ता खेल सञ्चालन गर्नुअघि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई जानकारी र अनुमति अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ ।

नेपाल मेलामहोत्सव संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाउँदै खेलकुदको विधानअनुसार कार्यक्रम सञ्चालन गर्न माग गरेको छ । उक्त पत्र गृह मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालयलगायत १३ वटा निकायमा पठाइएको छ ।