गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस


काठमाडौँ।

नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी अभियानमा जाने तयारी गरेको छ। शुक्रबार (माघ ९) बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्।

केन्द्रीय समिति बैठकको एजेन्डा तयारी भइरहेको बताउँदै उपसभापति पुष्पा भुसालले भनिन्, “केन्द्रीय समिति बैठक माघ ९ गते बस्दैछ। हामी एजेन्डा तयारीकै चरणमा छौँ। बैठकका एजेन्डामध्ये सभापतिलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने विषय पनि छ।”

कांग्रेसले औपचारिक निर्णय गर्न बाँकी रहे पनि थापा उम्मेदवार बनेको सर्लाही–४ मा ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित प्रचारप्रसार सुरु भइसकेको छ।

यसअघि नै प्रमुख प्रतिद्वन्द्वी दलहरू नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्रीका उम्मेदवार तोकेर चुनावी मैदानमा उत्रिसकेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रचार गरिरहेको छ।