आयोजक टिमले घरेलु मैदानमै उपाधि आफ्नो नाममा लेखाए

658
Shares

लमजुङ। 

पाँचौँ राइनास कप २०८२ को उपाधि आयोजक गौलिटार क्षेत्रीय खेल मैदान समितिले  उचालेको छ । गत वर्षको च्याम्पियन तार्कुघाट युनेस्कोलाई पराजित गर्दै आयोजक टिमले घरेलु मैदानमै उपाधि आफ्नो नाममा लेखाएको हो ।

फाइनल खेलमा तार्कुघाट युनेस्कोलाई १–० गोल अन्तरले हराउँदै आयोजक टिम विजय बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक तर्फका लिलिजंग तामाङले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।

उपाधिसँगै आयोजक टिमले नगद पाँच लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता तार्कुघाट युनेस्कोले दुई लाख ५० हजार, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।

निर्णायक गोलकर्ता लिलिजंग तामाङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै २५ सय रुपैयाँ नगद र मायाको चिनोबाट सम्मानित भए । साथै फाइनल खेलमा गोल गरेकोमा शोभा पन्थिले व्यक्तिगत तर्फबाट उनलाई १५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै हौसला बढाएका थिए ।

प्रितियोगिताभर तिन गोल गर्दै आयोजक टिमका सञ्जय श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै, सन्दीप रानामगर सर्वोत्कृष्ट खेलाडी र रमेश श्रेष्ठ उत्कृष्ट गोलकिपरको उपाधिबाट सम्मानित भए । उनीहरु तीनै जनालाई जनही १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक तथा समितिका पूर्व अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

राइनास नगरपालिका–६ स्थित गौलिटार क्षेत्रीय खेलमैदानमा माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो ।

विजयी टिम तथा उत्कृष्ट खेलाडीहरुलाई वडा नम्बर ६ का अध्यक्ष गोविन्द चिलुवाल, वडा नम्बर ९ का अध्यक्ष लुविन्द्र गुरुङ, आयोजक गौलिटार क्षेत्रीय खेलमैदान समितिका अध्यक्ष टकेन्द्रराज चिलुवाल, पूर्व अध्यक्ष किरण श्रेष्ठ लगायत समितिका पदाधिकारीहरुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

आयोजक समितिका सचिव प्रदिप जंग गुरुङले संचालन गर्नुभएको पुरस्कार वितरण कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष सरोज तामाङ (लिला) ले स्वागत मन्तव्य राखेका थिए ।

राइनास नगरपालिकाको सहयोगमा गौलिटार क्षेत्रीय खेलमैदान समितिले आयोजना गरेको पाँचौँ राइनास कप सफल बनाउन देश–विदेशमा रहेका राइनासवासी तथा विभिन्न सहयोगी व्यक्ति र संघ–संस्थाको उल्लेखनीय योगदान रहेको आयोजक समितिले जनाएको छ । प्रतियोगिता संचालनमा सहयोग गर्ने स्थानीय आमा समूह, सहयोगी व्यक्ति तथा संघ–संस्थालाई विशेष सम्मानसमेत गरिएको थियो ।