काठमाडौँ।
निर्वाचनको समयमा पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत १० दिनमै २०–२५ प्रतिशतसम्म बढ्न सक्ने नेपाल आयल निगमले अनुमान गरेको छ। यही सम्भावनालाई ध्यानमा राख्दै निगमले इन्धन आपूर्ति सहज बनाउन तयारी थालेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार चुनाव आसपासमा सीमाना केही दिन बन्द हुन सक्ने भएकाले सबै डिपोहरुलाई पर्याप्त इन्धन भण्डारण गर्न निर्देशन दिइँदैछ। हाल दैनिक औसतमा २०–२५ लाख लिटर पेट्रोल र ३८–४० लाख लिटर डिजेल खपत हुँदै आएको छ।
चुनावका बेला आपूर्ति प्रभावित नहोस् भनेर निगमले १७–१८ सय ट्याङकर परिचालन गर्ने र भण्डारण गृह पूर्ण रूपमा भर्ने योजना बनाएको छ। २–४ दिन सीमा बन्द भए पनि बजारमा अभाव नहुने गरी व्यवस्थापन गरिने निगमको दाबी छ।
यसैबीच, निगमले पाइपलाइनमार्फत इन्धन आपूर्ति विस्तारलाई पनि तीव्र पारेको छ। मोतिहारी–अमलेशगञ्ज पाइपलाइन सञ्चालनमा आइसकेको छ भने अमलेशगञ्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन योजनाहरू अघि बढाइँदै छन्। पाइपलाइन विस्तारसँगै ढुवानी लागत घट्ने र उपभोक्ताले सस्तोमा इन्धन पाउने निगमको विश्वास छ।











प्रतिक्रिया