काठमााडौँ
सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना”को इकाई बाँडफाँड सम्पन्न भएको छ ।
प्रति इकाई अंकित मूल्य रु. १० दरका कुल १० करोड इकाईमध्ये बीजपूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई (१५ करोड रुपियाँ) कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिएको थियो । उक्त योजना मिति २०८२ पौष ०४ गतेदेखि २०८२ पौष १८ गतेसम्म आवेदनका लागि खुला गरिएको थियो ।
निष्काशन अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएपछि प्रचलित कानुन बमोजिम योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी कुल १ अर्ब २५ करोड रुपियाँ बराबरका १२ करोड ५० लाख इकाई कायम गरिएको हो । सोहीअनुसार बीजपूँजीसहित कुल ६७,७२० योग्य आवेदकहरूलाई मिति २०८२ माघ ०४ गते इकाई बाँडफाँड गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ ।
यस निष्काशन तथा बिक्री कार्य सफल बनाउन सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता आवेदकहरू, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सञ्चार माध्यमहरू तथा सम्बन्धित सबै निकायप्रति कम्पनीले धन्यवाद तथा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरी (फन्ड म्यानेजर), पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (एःक्), सेयर अन्डरराइटिङ, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा संस्थागत परामर्श सेवा (एडभाइजर सर्भिस) लगायतका विविध लगानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनामार्फत उच्च प्रतिफल दिने लक्ष्य लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन् ।











प्रतिक्रिया