रवि लामिछानेले गरे वारेसमार्फत चितवन–२ मा उम्मेदवारी दर्ता


चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं.२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका लामिछाने समयमै उपस्थित हुन नसक्ने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए ।

उनका अनुसार लामिछानेले रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका थिए र ज्ञवालीले नै जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् । वीरगञ्जको काम सकेर चितवन फर्किने तयारी भए पनि समय अभावका कारण वारेसमार्फत दर्ता गरिएको भुषालले बताए ।

लामिछाने तेस्रोपटक चितवन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।