काठमाडौं ।
जलविद्युत् निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब रुपियाँ नाघिसकेको छ भने सरकारी क्षेत्रको लगानी करिब एक खर्ब एक अर्ब रुपियाँभन्दा बढी गरी सवा १४ अर्ब लगानी भएको तथ्यांक छ । ‘नेपालको जलविद्युत क्षेत्रमा लगानी’ अध्ययन प्रतिवेदनले उक्त तथ्य सार्वजनिक गरेको हो ।
अध्ययनअनुसार देशभर सञ्चालन, निर्माणाधीन तथा विकासका विभिन्न चरणमा रहेका ९२३ वटा जलविद्युत् आयोजनामा कुल लगानी १३ खर्ब रुपियाँभन्दा बढी पुगेको छ । यीमध्ये ३४७ वटा आयोजना सञ्चालनमा वा निर्माणाधीन अवस्थामा छन्, जसको कुल उत्पादन क्षमता ७ हजार २५१ मेगावाट छ । यस्ता आयोजनामा मात्र १२ खर्ब ४३ अर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको छ।
त्यसैगरी सर्वेक्षण, अध्ययन तथा प्रारम्भिक प्रक्रियामा रहेका ५७६ वटा आयोजनाको सम्भावित क्षमता २७ हजार ५३५ मेगावाट रहेको छ । यी आयोजनामा हालसम्म करिब ६६ अर्ब ६२ करोड रुपियाँ बराबरको इक्विटी लगानी भइसकेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसार जलविद्युत् कम्पनीका आइपीओमार्फत ४१ अर्ब ६५ करोड रुपियाँ सर्वसाधारणबाट संकलन भइसकेको छ भने करिब १ करोड १३ लाख नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस क्षेत्रमा जोडिएका छन् ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणले प्रवद्र्धन गरेका करिब १७ वटा आयोजनामा करिब १ खर्ब एक अर्ब रुपियाँ बराबरको लगानी रहेको छ । पछिल्ला १५ वर्षमा जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २००९ मा करिब २ अर्ब ७७ करोड रुपियाँ रहेको जलविद्युत् क्षेत्रको कर्जा सन् २०२५ को फेब्रुअरीसम्म आइपुग्दा ४ खर्ब २ अर्ब रुपियाँ नाघेको छ । यो अवधिमा विद्युत् क्षेत्रको कर्जा १४५ गुणाभन्दा बढीले वृद्धि भएको हो ।
कुल बैंकिङ कर्जा पोर्टफोलियोमा विद्युत् क्षेत्रको हिस्सा पनि निरन्तर बढ्दो क्रममा छ । सन् २००९ मा ०.६९ प्रतिशत मात्र रहेको यो हिस्सा सन् २०२५ को फेब्रुअरीमा ७.४० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले ०८४ सालसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये १० प्रतिशत जलविद्युत् क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेकाले अझै कर्जा विस्तारको पर्याप्त सम्भावना रहेको देखिन्छ ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट र छिमेकी मुलुकमा १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य तय गरिएको छ ।
हाल ११ हजार ६ सय मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा छन् भने करिब १६ हजार मेगावाट बराबरको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। हाल ४ हजार मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ भने ५ हजार मेगावाट निर्माणाधीन अवस्थामा छ।











प्रतिक्रिया