बागलुङमा जनमोर्चा–नेकपाबीच चुनावी तालमेल


काठमाडौँ।

बागलुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा जनमोर्चा र क्षेत्र नम्बर २ मा नेकपाले उम्मेदवार उठाउने भएका छन्।

सोमबार नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दलबीच तालमेल भएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बागलुङ जिल्लामा दुई दलबीच चुनावी तालमेल गरी एक–अर्कालाई सहयोग र समर्थन गर्ने उल्लेख छ। सहमतिअनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई नेकपाले सहयोग गर्ने र क्षेत्र नम्बर २ मा नेकपालाई जनमोर्चाले समर्थन गर्ने प्रतिवद्धता जनाइएको छ।

दुवै पार्टीले आपसी सहमति र निर्णयलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

सहमति अनुसार बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने बागलुङ–२ मा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्।