काठमाडौं ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले मेयर नियुक्त भएको करिब अढाई वर्षपछि मेयर पद त्याग गर्नुभएको छ । उहाँ नेकपा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा–५मा चुनाव लड्न महानगरको मेयर त्याग्नु भएको हो । मेयर साहले मनोनयन गर्नुअघि पद छाड्ने हो कि होइन भन्ने अनुमानको आधारमा आइतबार दिउँसो करिब ३ बजे उपमेयर सुनिता डंगोललाई सम्बोधन गरी कार्यपालिकाबाट स्वीकृत हुनेगरी राजीनामा दिनुभएको थियो ।
‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौ महानगरपालिकाको नगरप्रमुख पदबाट हिजोदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु –उल्लेख गर्दै राजीनामा दिनुभएको हो ।
‘पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु’–पत्रमा उल्लेख गरी राजीनामा दिनुभएको थियो ।
राजीनामा मात्रमा उपमेयर सुनिता डंगोलले कार्यपालिकामा पेस गर्ने उल्लेख गर्नुभएको थियो । यसअघि दिउँसो राजीनामा दिने कि नदिने ? दोधारमा रहनुभएका मेयर साह रास्वपा नेपालको मुख्यालय पुगेपछि मुड परिवर्तन गरी प्रेसरमा राजीनामा दिनुभएको थियो ।
यसअघि दिनभर मेयर शाहले मनोनयन दर्ता गरेपछि स्वत पदखारेज हुने भन्दै राजीनामा नदिने अवस्थामा हुनुहन्थ्यो । आइतबार दिउँसो मेयर शाहले राजीनामा दिने हल्ला चलेपछि दर्जनौ संचारकर्मी कामपा मुख्यालय पुगेका थिए । राजीनामा नदिने रे ? भन्ने हल्ला चलेपछि सबै सञ्चारकर्मी फर्र्किएका थिए । मेयर साहको राजिनामाको हल्ला चलेपछि दिनभर कामपामा नियमित काम समेत हुन सकेको थिएन । सबै कर्मचारी मेयर साहको निर्णयको पर्खाईमा थिए ।
केही समयपछि राजीनामा पत्र पु¥याउन मेयरका सहायकविज्ञ सुदिप ढकाल कामपा पुग्नुभएको थियो । उपमेयरको कार्यकक्षमा पुगेर राजिनामापत्र दिएपछि उपमेयर डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाई र कर्मचारी अचम्मित भएका थिए । राजीनामा लगत्तै उपमेयर डंगोलले मेयर साहलाई सम्मान सहित बिदाइ गर्न र राजिनामाको बारेमा जानकारी दिन कार्यपालिका बैठक डाक्नुभएको थियो ।
मेयर आउने लगभग पक्का भएपछि बैठकलाई भब्य बनाउने योजना थियो । तर आफू नआउने बताएपछि उपमेयर डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक बसेको थियो । करिब ५ मिनेट बसेको बैठकमा मेयर साहको राजीनामा स्वीकृत र धन्यवाद दिएको थियो । ४१ सदस्यीय कार्यपालिकामा केही बाहेक सबै कार्यपालिका सदस्यको उपस्थित थियो । यसअघि मेयर साहको बिदाईको विषयमा मेयर,उपमेयर र कर्मचारीबीच कुराकानी भैरहेको थियो । तर अन्तिममा मेयर साहको उपस्थिति भएन ।
०७९ सालको स्थानीयतह निर्वाचनमा बालेनले६१ हजार ७६७ मतसहित विजयी भएका थिए । मेयर साहले राजीनामा दिएसंगै मेयर को सचिवालय, शहरी योजना आयोगका उपाध्यक्ष सहित २१ जनाको पदरिक्त हुने भएको छ । मेयरको कार्यभार सम्हाल्नुभएका उपमेयर डंगोलले करिबसाढे १ वर्ष कार्यभार सम्हाल्नुहुनेछ । मेयरले राजीनामा दिने दुईदिनअघि मेयर साह र उपमेयर डंगोल बीच शुक्रबार करिब डेढघण्टा भलाकुसारी भएको थियो । त्यसबेला नै उपमेयर डंगोलले मेयर शाहले राजीनामा दिने बताउनुभएको थियो ।
बालेन्द्र साहले सरकारी निवास छाडे
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले लैनचौरस्थित मेयर निवास खाली गरेका छन् । राजीनामा दिएलगत्तै महानगर प्रहरी बलको सहयोगमा मेयर साहले निवास खाली गरेका हुन । केहीदिनबाट घर खोजी सुरु गरेका मेयर साहले तत्कालीन सचिवालय सदस्यले चप्पल कारखाना नजिकै घर खोजेका थिए ।
आजै राजीनामा दिनुभयो, आजैबाट निवास खाली गरेर महानगरको सम्पूर्ण जिम्मेवारी मुक्त हुनुभयो–कामपाका कर्मचारीले नेपाल समाचारपत्रसंग भने । मेयर शाहसँगै सचिवालयका सबैले बरबुझारथ गरिसकेका छन् ।











प्रतिक्रिया