काठमाडौँ
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्धक तथा नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोषले आफ्ना इकाइ आज मिति २०८२ साल माघ ४ गतेदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ
।
नेपाल धितोपत्र बोर्डबाट मिति २०८२÷०९÷१३ गते स्वीकृति प्राप्त गरी प्रति इकाइ १० रुपियाँ अंकित दरमा कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ निष्कासन गरिएको हो । यसमध्ये बीज पुँजीका रूपमा १५ प्रतिशत इकाइ सुरक्षित गरिएको छ, जसअन्तर्गत १४ प्रतिशत (२ करोड २४ लाख इकाइ) कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि तथा १ प्रतिशत (१६ लाख इकाइ) योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १३ करोड ६० लाख इकाइ सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड ६० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो । यस योजनाको अवधि इकाइ बाँडफाँड भएको मितिले १० वर्ष रहनेछ। लगानीकर्ताले माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त योजनामा लगानी गर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेड द्वारा निर्माण गरिएको “मेरो सेयर” अनलाइन प्रणाली प्रयोग गरी सी–आश्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
बिक्री खुला भएको यस म्युचुअल फण्डको निष्कासनका लागि गराइएको मूल्याङ्कनमा इक्रा नेपाल लिमिटेड ले कोष प्रवद्र्धकलाई “आईआरए–एनपी एएमसी क्यू–ए” (सबल कोष व्यवस्थापन क्षमता संकेत गर्ने) तथा योजना व्यवस्थापकलाई “आईआरए–एनपी एएमसी टु” श्रेणीको कोष व्यवस्थापन मूल्याङ्कन प्रदान गरेको छ ।
यस योजनाले दीर्घकालीन रूपमा स्थिर र सुरक्षित प्रतिफलको अपेक्षा गर्ने लगानीकर्ताका लागि आकर्षक लगानी अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।











प्रतिक्रिया