काठमाडौं।
बिलिङ प्रणालीमा पटक पटक समस्या देखिएपछि नेपाल टेलिकमले पुनः प्रणाली बाइपास गरेर सेवा सञ्चालन गरेको पाइएको छ । सोमबार र मंगलबार दुईपटक आएको प्राविधिक समस्याका कारण टेलिकमको डेटा सेवा प्रभावित बनेको थियो ।
पुस २८ गते बिहान १०ः३० देखि ११ः०० बजेसम्म र पुस २९ गते दिउँसो १ः२२ देखि १ः५० बजेसम्म बिलिङ प्रणालीमा समस्या आएपछि देशभर डेटा सेवा अवरुद्ध भएको थियो । समस्या तत्काल समाधान हुन नसकेपछि टेलिकमले मंगलबार दिउँसो करिब ३ बजेसम्म बिलिङ प्रणाली बाइपास गरी सेवा सञ्चालन गरिएको टेलिकम स्रोतले जानकारी दियो । सो अवधिमा प्रयोगकर्ताहरूले डेटा सेवा निःशुल्क प्रयोग गर्न पाएका कारण टेलिकमको आम्दानीमा उल्लेख्य क्षति पुगेको बताइएको छ । साथै उपभोक्ताले समेत सास्ती भोग्नु परेको थियो ।
बिलिङ प्रणालीमा आएको प्राविधिक गडबडीका कारण लाखौँ प्रयोगकर्ताहरू केही समय सेवाबाट वञ्चित बनेका थिए । टेलिकममा यस्तो समस्या नयाँ भने होइन । यसअघि पनि पटक–पटक बिलिङ प्रणालीमा समस्या आउँदा सेवा अवरुद्ध हुँदै आएको छ । त्यसलाई हटाउन टेलिकमले अस्थायी रूपमा प्रणाली बाइपास गर्ने अभ्यास गर्दै आएको छ ।
तथ्यांकअनुसार सन् २०२४ भरि पुरानो बिलिङ प्रणालीले सेवा धान्न नसक्दा टेलिकम १७ पटकसम्म डाउन भएको थियो । त्यस्तै सन् २०२५ मा पाँचपटक सेवा प्रभावित भएको थियो, जसअन्तर्गत जनवरी ४, जुलाई २८, सेप्टेम्बर २५ मा दुईपटक र डिसेम्बर २ मा समस्या देखिएको थियो । सन् २०२६ को पहिलो महिनामै दुईपटक यस्तै समस्या दोहोरिसकेको छ । पटक–पटक सेवा अवरुद्ध हुँदा पनि समस्याको मूल कारण पत्ता लगाएर दीर्घकालीन समाधान निकाल्न टेलिकम असफल देखिएको छ । समस्या आउनासाथ बिलिङ प्रणाली बाइपास गरेर सेवा दिने प्रवृत्तिकै कारण यस्तो अवस्था दोहोरिँदै आएको सरोकारवालाहरूको भनाइ छ ।
लामो समयदेखि बिलिङ प्रणाली अपग्रेड वा नयाँ प्रणाली खरिद गर्ने योजना टुंगोमा नपुग्दा टेलिकमको सेवा गुणस्तर प्रभावित हुँदै आएको छ । बारम्बारको नेटवर्क डाउन र प्राविधिक समस्याले कम्पनीको आम्दानी मात्र होइन, ग्राहक तथा सरोकारवालामाझ टेलिकमको विश्वसनीयतामा समेत गम्भीर असर पारिरहेको छ ।











प्रतिक्रिया