भक्तपुरको चाँगुनारायण–४ को एउटा मध्यमवर्गीय परिवारमा २६ वर्षअघि एउटी बालिकाको जन्म भयो । ७ वर्षको कलिलो उमेरमा जब अरू बालबालिकाहरू खेलौना र गुच्चासँग रमाइरहेका हुन्थ्यो, ती बालिकाका आँखाहरू भने आफ्ना दाजु मनोजबहादुर तामाङले गर्ने उसुको मार्सल आट्र्सका मुभहरूमा अडिएका हुन्थ्यो । “दाइले सक्नुहुन्छ भने म किन सक्दिनँ?” भन्ने त्यो बालहठ नै आज नेपाली खेलकुदको एउटा बलियो खम्बा बनेर उभिएकी छिन् । ती बालिका अरू कोही नभएर नेपाली उसु जगतकी स्टार खेलाडी सुष्मिता तामाङ हुन् । आज सुष्मिताको नाम सुन्नेबित्तिकै दुईवटा चित्र आँखा अगाडि आउँछन् । एउटा उसुको म्याटमा तरवार र लठ्ठीसँगै हावामा उडिरहेकी एक निडर लडाकु र अर्को विश्वविद्यालयको नतिजामा उत्कृष्ट स्थान हासिल गरेकी एक लगनशील विद्यार्थी । सुष्मिताले नेपाली खेलकुदमा एउटा यस्तो मानक स्थापित गरेकी छिन्, जसले ‘खेलाडीले पढ्न सक्दैनन्’ भन्ने भ्रमलाई जरैदेखि उखेलिदिएको छ ।
चिनियाँ शब्द ‘उसु’ को अर्थ हुन्छ ‘युद्धकला’ । यो केवल मुक्का र लात्तीको खेल मात्र होइन, यो त मानसिक र शारीरिक अनुशासनको पूर्ण सन्तुलन हो । सुष्मिताले उसुको ‘थाओलु’ विधालाई आफ्नो जीवनको मन्त्र बनाइन् । थाउलुअन्तर्गत पनि उनी ‘छाङ्गछ्वान’ र ‘ताउसु’ मा पोख्त छिन् । “उसु केवल शारीरिक शक्तिको प्रदर्शन मात्रै होइन, यो त अनुशासन, एकाग्रता र सटिकताको संगम हो,” सुष्मिता अनुभव सुनाउँछिन्,“यो आफ्नो शरीरद्वारा कविता वाचन गरेजस्तै हो । प्रत्येक चाल सटिक हुनुपर्छ, प्रत्येक उफ्राइ त्रुटिरहित हुनुपर्छ । सानो एउटा गल्तीले पनि वर्षौँको मेहनत क्षणभरमै शून्य बनाइदिन सक्छ ।” उनको प्रदर्शनमा देखिने लचकता, गति र शक्तिले दर्शकलाई मात्र होइन, अन्तर्राष्ट्रिय निर्णायकहरूलाई समेत मन्त्रमुग्ध पार्ने गर्दछ ।
हाल नेपाली सेनासँग आबद्ध सुष्मिताको पदक यात्रा ८ वर्षको उमेरदेखि नै सुरु भएको हो । बौद्धमा आयोजित जुनियर च्याम्पियनसिपमा जितेको कांस्य पदकले उनलाई खेलप्रतिको भोक जगायो । ९ वर्षको कलिलो उमेरमा पाँचौँ राष्ट्रिय खेलकुदमा दिग्गज खेलाडीहरूलाई उछिन्दै उनले रजत पदक चुमिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । छैटौँ, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा उनले लगातार स्वर्ण पदक जितेर घरेलु खेलकुदमा आफ्नो एकछत्र वर्चस्व कायम गरेकी छिन् । तर, उनको परिचय राष्ट्रिय घेरामा मात्र सीमित छैन । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनले स्वर्ण पदक जितेर इतिहास रचिन् भने गुवाहाटीमा भएको १२ औँ सागमा रजत पदक हात पारिन् ।
हालै सन् २०२५ मा ब्राजिलमा सम्पन्न १७ औँ विश्व उसु च्याम्पियनसिपमा उनी ‘ताउसु’ विधामा विश्वका शीर्ष ८ खेलाडीभित्र पर्न सफल भइन् । यो उपलब्धिले उनलाई सन् २०२६ मा चीनमा हुने चौथो ताओलु विश्वकपका लागि छनोट गराएको छ । शीर्ष ८ भित्र पर्नु आफैँमा ऐतिहासिक थियो, किनकि विश्व च्याम्पियनसिपमा अंकको प्रतिस्पर्धा दशमलवका साना बिन्दुहरूमा हुने गर्छ । सुष्मिता भन्छिन्,“विश्वकपमा खेल्दा एक सेकेन्डको ढिलाइ वा तरवारको एक मिलिमिटरको गलत कोणले पनि पदकबाट टाढा पु¥याउन सक्छ ।” उनको यही सूक्ष्म ध्यान र हतियारसँगको गहिरो लगावका कारण नै उनी सन् २०२६ को विश्वकपका लागि छनोट हुन सफल भएकी हुन् । जहाँ उनले नयाँ र अझै कठिन मुभहरू प्रदर्शन गर्ने तयारी गरिरहेकी छिन् । लगातार तीन पटक एसियाली खेलकुद (२०१४, २०१८ र २०२२) मा नेपालको प्रतिनिधित्व गरिसकेकी सुष्मिता अहिले एसियाकै गनिएकी खेलाडीमा पर्छिन् ।

सुष्मिताको कथा पदकहरूमा मात्र सकिँदैन । धेरैजसो खेलाडीहरू खेललाई बहाना बनाएर पढाइ छोड्छन्, तर सुष्मिताले यसलाई चुनौतीको रूपमा लिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एभरेष्ट कलेजमार्फत बीबीएम अध्ययन गरिन् । सन् २०२३ मा ३.८५ जीपीएसहित बीबीएम पाँचाँै सेमेस्टर उत्तीर्ण गर्दा उनी त्रिभुवन विश्वविधालयकै ‘सेकेन्ड टपर’ विद्यार्थी बन्न सफल भइन् । त्यति मात्रै होइन, केही वर्षअघि पनि एसएलसी उत्तीर्ण गर्दा उनी जिल्लाकै टपर बनेकी थिइन, त्यो पनि १२औं सागमा रजत जितेर फर्केको एक महिनाको छोटो अवधिको तयारीमै । बिहान सबेरै उठेर तालिममा पसिना बगाउनु, थकित शरीर र निद्राले भरिएका आँखाहरू लिएर कलेज दौडिनु उनको धेरै वर्षको नियमित दैनिकी थियो । “धेरै पटक म स्कुल पुग्दा पहिलो पिरियड सकिइसकेको हुन्थ्यो,“उनी सम्झिन्छिन्,“घर फर्कँदा आमाले कपाल कोरिदिँदै खाना खुवाउनुहुन्थ्यो ताकि म समयमै स्कुल जान सकूँ । रातभर जाग्राम बसेर भए पनि मैले छुटेका पाठहरू पूरा गर्थें ।” उनी नेपाली, तामाङ, अंग्रेजी र हिन्दी भाषामा निपुण त छिन् नै, उसुको मर्म बुझ्न उनले चिनियाँ भाषामा समेत दखल राखेकी छिन् । यो बहुभाषिक क्षमताले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न संस्कृतिसँग जोडिन मद्दत गरेको छ ।
सुष्मिताले आज जुन सफलता पाएकी छिन्, त्यसको जगमा कठोर संघर्ष लुकेको छ । भक्तपुरको एउटा पुरानो र जीर्ण हलभित्र गुरु सत्य भँडेलको रेखदेखमा उनले आफ्नो कलालाई तिखार्न सुरु गरेकी थिइन् । तालिम प्रतिको उनको तिर्खा यति थियो कि एउटा हलको प्रशिक्षण सकेर उनी अर्का गुरु साजन देशेमरुका पुग्थिन् । “मेरो शरीर फलामजस्तै दह्रो हुनुपर्छ भन्ने मलाई लाग्थ्यो,”उनी भन्छिन् । आमाबुबाले “छोरी मान्छे, शरीर दुख्छ, चोट लाग्छ” भनेर चिन्ता गर्दा उनी आफ्नो लक्ष्यमा झनै दृढ बन्थिन् । अहिले प्रशिक्षक प्रकाश महर्जनको प्रशिक्षणमा सुष्मिताको सम्पूर्ण ध्यान आगामी सेप्टेम्बरमा जापानमा हुने २० औँ एसियाली खेलकुद र सन् २०२६ को विश्वकपमा केन्द्रित छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले उनलाई विशेष छात्रवृत्तिसमेत प्रदान गरेको छ । जसअन्तर्गत आगामी सेप्टेम्बरसम्म एनओसीबाट उनले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । जसले उनको तयारीमा ठुलो मद्दत पुगेको छ । “म केवल पदक जित्न चाहन्नँ, म नेपालमा एउटा यस्तो माहोल बनाउन चाहन्छु जहाँ हरेक विद्यालयमा उसु सिकाइयोस्,” उनी आफ्नो सपना सुनाउँछिन् । फुर्सदको समयमा उनी नयाँ खेलाडीहरूलाई टिप्स दिने र उनीहरूलाई उत्प्रेरित गर्ने काम पनि गर्छिन् ।
सुष्मिता आधुनिक नेपाली युवा पुस्ताकी वास्तविक प्रतिनिधि हुन् । उनले सावित गरिदिएकी छिन् कि यदि इच्छाशक्ति र अनुशासन छ भने खेलको मैदानमा स्वर्णको चांग लगाउन र विश्वविद्यालयको परीक्षामा टपर बन्न सँगसँगै सम्भव छ । शक्ति र शालीनताको यो अनुपम संगमले नेपाली खेलकुद इतिहासमा एउटा सुनौलो अध्याय थपिसकेको छ । भक्तपुरको माटोबाट उठेकी यी उसु स्टारको वास्तविक उडान त अझै बाँकी नै छ, जसले आगामी दिनमा विश्व मञ्चमा नेपालको झन्डा अझै उँचो बनाउनेछ ।











प्रतिक्रिया