नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा सभा सम्पन्न गरेको हो ।

सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपियाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपियाँ कायम भएको छ ।

यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपियाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपियाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपियाँ पुगेको छ ।

बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।