काठमाडौं।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–स्थित नारायणटार पुलमा ट्राफिक लाइटको औपचारिक रूपमा उद्घाटन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा ट्राफिक प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक शेखरजंग थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ‘ट्राफिक सप्ताह’ को महत्व र उद्देश्यबारे आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एआइजी कार्कीले ट्राफिक सप्ताह केवल सवारी व्यवस्थापनसँग मात्र सीमित नभई नागरिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरे। उनले ट्राफिक नियमको पालना र सचेतनाबाट दुर्घटना न्यूनीकरण सम्भव हुने बताए।

कार्यक्रमका सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले प्रहरीले सञ्चालन गर्ने सबै अभियान नागरिकको सुरक्षाका लागि केन्द्रित रहेको उल्लेख गर्दै नगरपालिकाले प्रहरीसँग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, समाजसेवी, यातायात व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। नारायणटार पुल क्षेत्रमा ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया