तोकिएकै मितिमा निर्वाचन सफल पार्न सरकारले माहोल तयार गरिसक्यो : गृहमन्त्री अर्याल


जनकपुरधाम ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण वातावरण तयार गरिसकेको दाबी गर्नुभएको छ। जेन–जी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका कमजोर बनेको अवस्थामा गैरदलीय नागरिक सरकार गठन भएको स्पष्ट पार्दै उहाँले वर्तमान सरकारको प्रमुख दायित्व सुशासन कायम गर्नु र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो।

मधेश प्रदेश सरकार, गृह मन्त्रालय तथा प्रदेशकै गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा बुधबार जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्दै गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनापछि देश अभिभावकविहीन अवस्थामा पुगेको र त्यसै परिस्थितिमा जेन–जी पुस्ता तथा तत्कालीन दलीय सहमतिमै हालको सरकार गठन भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो नागरिक सरकार भएकै कारण नागरिक र युवापुस्ताको जनभावनाअनुसार सहकार्य र समन्वयमा अघि बढिरहेको छ।

त्यसैले सरकार निष्ठा र इमानदारिताबाट कहिल्यै पछि हट्दैन।” कार्यक्रममा विशेष अतिथिका रूपमा मन्तव्य राख्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्था समीक्षा गर्दै आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री यादवले पछिल्लो समय तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता, जेन–जी आन्दोलनपछि भएका भौतिक संरचनामा क्षति, लुटिएका हतियार तथा फरार कैदीबन्दी जस्ता सुरक्षा चुनौतीहरूलाई गोष्ठीले गम्भीरतापूर्वक सम्बोधन गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

साथै, प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै प्रदेशसँग आफ्नै प्रहरी संरचना नभएको भन्ने नकारात्मक भाष्य निर्माण भइरहेकोप्रति उहाँले कटाक्ष गर्नुभयो। यस्तै, मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐन अभावकै कारण प्रदेशस्तरमा सुरक्षा चुनौती अदृश्य रूपमा बढ्दै गएको बताउनुभयो। खुला सिमाना स्वच्छ नियमनका लागि चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै उहाँले जिल्ला प्रहरी, प्रदेश प्रहरी र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो। मन्त्री महतोले सुरक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधानका उपाय खोज्न गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।