काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेका बेला संस्थापन समूहसँगको वार्तामा सहमति जुट्न नसकेपछि महामन्त्री गगन थापाले पार्टी सभापतिमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार सभापति पदमा थापाको मात्र उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ता समयभित्र अन्य कुनै पनि आकांक्षीले मनोनयन दर्ता नगराएपछि थापा निर्विरोध निर्वाचित हुने सम्भावना बलियो बनेको छ।
विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व परिवर्तन गर्ने उद्देश्यसहित थापा–विश्वप्रकाश समूहले अघि सारेको प्रक्रियामा संस्थापन समूह अन्तिमसम्म सहभागी नहुँदा वार्ता निष्कर्षविहीन बनेको थियो। त्यसपछि थापाले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेका हुन्। निर्वाचन समितिले आजै मतदानको तयारी गरेको जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति र मतदान प्रक्रिया व्यवस्थापनका लागि आवश्यक प्राविधिक तथा सुरक्षा तयारी पूरा गरिएको समितिको भनाइ छ। यस घटनाक्रमसँगै कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप निर्णायक मोडमा पुगेको छ। विशेष महाधिवेशनको वैधानिकता, सहभागिता र आगामी नेतृत्वको स्वीकार्यताबारे बहस अझै जारी रहेको छ।











प्रतिक्रिया