प्रत्यक्ष निर्वाचनमा टिकट हस्ताक्षर अधिकार दिन देउवा तयार


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुनले अनुमति दिए प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा पार्टी टिकट दिँदा आफ्ना सट्टा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन तयार रहेको बताएका छन्। बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

देउवाले वैशाखमा हुने १५औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने निश्चित भइसकेकाले हाल नेतृत्व परिवर्तनको विषय नउठाउन आग्रह गर्दै आफू पुनः सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे। पार्टीभित्र देखिएको विवाद समाधानका लागि भएको ४५ मिनेटको वार्तामा सहमति नजुटेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।