प्रेस स्वतन्त्रतामाथि १२१ घटना, धम्की र दुर्व्यवहार सबैभन्दा बढी प्रेस काउन्सिल नेपालको प्रतिवेदन सार्वजनिक


काठमाडौं ।

प्रेस काउन्सिल नेपालले सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा नेपालभर प्रेस स्वतन्त्रता हननका १२१ वटा घटना भएको तथ्य सार्वजनिक गरेको छ। काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा उक्त अवधिमा पत्रकार तथा सञ्चारमाध्यममाथि विभिन्न किसिमका आक्रमण, धम्की र अवरोधका घटना भएको पाइएको हो।

प्रतिवेदनअनुसार सबैभन्दा बढी धम्की तथा दुर्व्यवहारका ५० घटना अभिलेख भएका छन्। यस्तै आक्रमण/कुटपिटका ३७, पेशागत असुरक्षाका १५, कवज/अवरोधका ६, पकडाउ/पकडाउ प्रयासका ५, नीतिगत बन्देजका २, शङ्कास्पद मृत्युका २ र लैङ्गिक हिंसाका १ घटना भएका छन्। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी ६२ घटना भएका छन्। त्यसपछि मधेश प्रदेशमा २७, सुदूरपश्चिममा ८, कोशीमा ७, लुम्बिनी र गण्डकीमा ६–६ तथा कर्णाली प्रदेशमा ५ घटना अभिलेख भएका छन्। लैङ्गिक आधारमा हेर्दा एक वर्षको अवधिमा १२० पुरुष र १ महिला गरी १२१ जना पत्रकार/सञ्चारकर्मी प्रेस स्वतन्त्रता हननको शिकार भएका छन्।

यस अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी १० वटा घटना समेत दर्ता भएका छन्। तीमध्ये बागमती प्रदेशमा ५, मधेश प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ घटना रहेको काउन्सिलले जनाएको छ। प्रेस काउन्सिल नेपालले पत्रकारहरूको सुरक्षामा राज्य संयन्त्र गम्भीर हुनुपर्ने, दोषीमाथि कारबाही र प्रेस स्वतन्त्रताको संरक्षणका लागि स्पष्ट नीति तथा व्यवहारिक कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकालेको छ।