नेपाली कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता सुरु


काठमाडौँ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि बिहान ९:१५ बजेसम्म समय तोकिएको छ । मनोनयनपछि निर्वाचनसम्बन्धी अन्य प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

पार्टीको पुरानै विधानअनुसार हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिअनुसार केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ४,७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल ४,६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।