काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख पदमा सह–प्राध्यापक डा. देवकाकुमारी आचार्य नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्को सोमवार बसेको बैठकले आचार्यलाई चार वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिसँगै उहाँले सोमवारदेखि नै औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ ।
यसअघि क्याम्पस प्रमुख रहनुभएकी प्राध्यापक मुना रानाको चार वर्षे कार्यकाल पूरा भएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले खुला प्रतिस्पर्धामार्फत क्याम्पस प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । उक्त प्रक्रियामा तीन जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । छनोट समितिले सिफारिस गरेका तीन नाममध्येबाट त्रिवि कार्यकारी परिषद्ले सह–प्रा.डा. आचार्यलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निवर्तमान क्याम्पस प्रमुख प्राध्यापक मुना रानालाई यसअघि नै नेपाल सरकारले नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा नियुक्त गरिसकेको छ । रानाको कार्यकालमा क्याम्पसको शैक्षिक व्यवस्थापन, परीक्षा प्रणाली तथा प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय पहल भएको क्याम्पस स्रोतले बतायो ।
नवनियुक्त क्याम्पस प्रमुख डा. आचार्य नर्सिङ शिक्षा र पेशागत नेतृत्वमा लामो अनुभव भएकी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । हाल नेपाल नर्सिङ संघको महासचिवको जिम्मेवारीमा रहेका डा. आचार्य नर्सिङ शिक्षा, पेशागत अधिकार, नीतिगत सुधार तथा नर्सहरूको सशक्तीकरणका विषयमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ ।











प्रतिक्रिया