प्रधानन्यायाधीश राउत अस्पताल भर्ना, स्वास्थ्य अवस्था निगरानीमा


काठमाडौँ ।

 प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल एपीएफ अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार पित्तथैलीमा समस्या देखिएपछि उनलाई हिजो राति नै अस्पताल भर्ना गरिएको हो।

‘पित्तथैलीमा समस्या देखिएपछि उहाँलाई हिजो राति अस्पताल भर्ना गरिएको हो,’ एक स्रोतले जानकारी दिएको छ। हाल प्रधानन्यायाधीश राउतको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ।

अदालत स्रोतका अनुसार प्रधानन्यायाधीशलाई राति अस्पताल भर्ना गरिएपछि ११ बजे आइजिपी राजु अर्याल सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरतर्फ प्रस्थान गरेका थिए। आज दिउँसो भने एआइजी वंशी दाहाल अस्पताल पुगेर थप हेरचाह र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सिभिल, वीर वा शिक्षण अस्पतालमा भर्ना हुँदा सर्वसाधारणलाई जानकारी भई भिडभाड बढ्न सक्ने सम्भावना रहेकाले फौजी अस्पताल रोजिएको अदालत स्रोतले जनाएको छ।

प्रधानन्यायाधीश राउतको उपचार र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।