अन्नपूर्ण माछा दाना उद्योगको आईपीओ तयारी, लक्ष्मी सन्राइज क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त


काठमाडौँ
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १०,०९,५३१ कित्ता साधारण शेयर, जम्मा रु. १०,०९,५३,१०० बराबरको शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त शेयर निष्काशनसम्बन्धी द्विपक्षीय सम्झौतामा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यश पुरी र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच मिति २०८२ पौष २९ गते लक्ष्मी सन्राइज क्यापिटलको कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार निकट भविष्यमै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ ।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालका अग्रणी माछा दाना उत्पादन गर्ने उद्योगहरूमध्ये एक हो । कम्पनीले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरीय, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका माछा दानाहरू उत्पादन गर्दै आएको छ । देशभर फैलिएको सशक्त वितरण सञ्जालमार्फत कम्पनीले सबै प्रदेशका मत्स्य कृषकहरूलाई उत्पादन आपूर्ति गर्नुका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पु¥याउँदै आएको छ ।

यसैबीच, नेपालका अग्रणी लगानी संस्था ‘टीम भेन्चर्स’ तथा यसका सम्बद्ध साझेदारहरूले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडमा संयुक्त रूपमा रु. २१६.८ मिलियन रणनीतिक संस्थागत लगानी गरेका छन्। यो लगानीसँगै कम्पनीमा पहिलोपटक संस्थागत पूँजी प्रवेश भएको हो। उक्त लगानीले आर्थिक तथा सामाजिक प्रभाव सिर्जना गर्ने स्वदेशी कृषि–प्रशोधन उद्योगलाई समर्थन गर्ने लगानीकर्ताको प्रतिबद्धता झल्काउँछ ।

टीम भेन्चर्सका प्रमुख लगानी अधिकृत विकासचन्द्र भण्डारीले अन्नपूर्ण माछा दाना उद्योगलाई दिगो दाना उत्पादनमा राष्ट्रिय स्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत यश पुरीले संस्थागत समर्थनले कम्पनी विस्तार, सुशासन सुदृढीकरण तथा आयात निर्भरता घटाउने लक्ष्यलाई तीव्रता दिने उल्लेख गरे। यस सहकार्यले कम्पनीको आईपीओ यात्रालाई थप संरचित र सुदृढ बनाउँदै सार्वजनिक बजारमा प्रवेशको तयारीलाई महत्वपूर्ण टेवा पु¥याएको कम्पनीले जनाएको छ ।