डेढ वर्षअघि त्रिशूलीमा हराएको गणपति डिलक्स बस भेटियो


चितवन।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ।

आइतबार बिहान बसको केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन दिनदेखि उत्खनन कार्य गरिरहेका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उत्खननका क्रममा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेपछि उक्त बस सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स नै भएको पुष्टि भएको हो। घटनास्थलमा अझै उत्खनन कार्य जारी रहेको उनले जानकारी दिए।

२०८१ असार २८ मा वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा खसेका थिए। दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना मात्र बाँच्न सफल भएका थिए।

दुर्घटनापछि नारायणी नदीमा २४ जनाको शव फेला परेको थियो, जसमध्ये १९ जनाको मात्र पहिचान पुष्टि भएको थियो। अझै ४३ यात्रु बेपत्ता छन्। सरकारले बेपत्तालाई मृतकसरह राहत उपलब्ध गराएको छ।