मुक्तिनाथमा मन मिलेन


क्यालिफोर्निया । 

नेपालबाहिर बनेको पहिलो मुक्तिनाथ मन्दिर, म्याकब्राइड एभिन्यूज, रिचमण्ड, क्यालिफोर्नियामा सञ्चालक र सदस्यहरुबीच चलेको नोकझोक अमेरिकी सरकारी कार्यालयसम्म पुगेको छ ।

मुक्तिनाथ कर्पोरेसनका नाममा दर्ता भई नाफारहित संस्थाका रुपमा सञ्चालित यो मन्दिर नेपालीको एकताको प्रतीक हुनुपर्नेमा विभाजनको कारण बन्ने संकेत देखिएको छ । 

मुक्तिनाथ कर्पोरेसन २०८० सालमा समाजसेवी अनिल पाण्डेको अध्यक्षतामा गठित कार्यसमितिको सक्रियतामा स्थापना भएको हो । केही महिनाअघि क्यालिफोर्निया निवासी राजेश थापा नामका व्यक्तिको अध्यक्षतामा नयाँ कार्यसमिति बन्यो । नयाँ समितिले पुरानो संस्थापक समितिको कामलाई पहिचान नदिने, पुरानो समितिले नयाँका गतिविधि आपत्तिजनक देख्ने भएका कारण विवाद विभिन्न स्वरुपमा बाहिर आएको हो । 

पछिल्लो पटक पत्रकार माधव मरासिनी संस्थाको विवादबारे समाचार बनाउन मुक्तिनाथ मन्दिर पुगे । उनका अनुसार उनले चाहेको जानकारी त दिइएन नै, उल्टो व्यक्तिगत धम्की दिइयो, अहिले मरासिनी जिउज्यानको सुरक्षा चाहियो भनेर वासिंगटन डिसीस्थित अमेरिकी न्याय विभागको मानवअधिकार तथा प्रेस स्वतन्त्रता निकायमा उजुरी लिएर पुगेका छन् । 

डिसेम्बर २९ र जनवरी ६ को मितिमा दिइएका पत्रकार मरासिनीको उजुरीमा भनिएको छ, अध्यक्ष थापा र उनको समूहमाथि कानुनी कारबाही होस् र अमेरिकी संविधानको पहिलो संशोधनले दिएको प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित हुनेगरी नागरिकको हक प्राप्त होस् । 

‘मुनाफारहित संस्थाहरुमा भएको नीतिगत भ्रष्टाचार विरुद्ध उजुरी दिएका कारण मलाई धम्की दिइयो,  व्यक्तिगत जिउज्यानको असुरक्षा भयो, स्वतन्त्र पत्रकारिता पेशामा असर पर्‍यो । व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यतामाथि आक्रमण भयो’ निवेदनमा पत्रकार मरासिनीले उल्लेख गरेका छन् । 

पत्रकार मरासिनीका अनुसार उनलाई मुक्तिनाथ कर्पोरेसन संरक्षक समितिका अध्यक्ष सूर्य शर्माले जिउज्यानको धम्की दिएका हुन् । शर्मा र अध्यक्ष थापा यस विवादमा एकै ठाउँमा उभिएका छन् ।