आहा रारा गोल्डकप फ्लडलाईटमा गर्ने तयारी

752
Shares

कास्की ।

आगामी माघको अन्तिम सातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ ।

पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । प्mलडलाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसक्यो । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिएका हुन् ।

“उदघाटन खेल नै बत्तीमा खेलाउने योजना छ । योजना अनुसार प्राविधिकले बत्ती जडान गर्ने छन् । जडान भ्याइएको अवस्था प्रतियोगिता रातीमा खेलाउने क्लबको लक्ष्य छ ।” थापाको भनाई थियो ।

बत्ती जडानको लागि क्लबले कोशी फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिवकुमार यादवसँग सम्झौता भईसकेको जनाएको छ । सम्झौताअनुसार फुटबल मैदानको चार दिशामा बत्ती जडान गरिनेछ र एउटा पोलामा १६ वटासम्म बत्ती जडान गरिने छ ।
बत्तीको उचाई ३५ फिटको हुने क्लबले जनाएको छ । “यो हाम्रो पहिलो प्रयास हो ।

२५ औं वर्षको अवसरमा यो प्रयास सफल भए आगामी दिनमा पनि रात्रीकालिन समयमा फुटबल प्रतियोगिता खेलाउन सकिन्छ भन्ने सन्देश जाने छ । सन्देश मात्रै नभई बत्ती जडान गर्नुपर्छ भन्ने दबाव अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद्लाई हुने छ ।” थापाले बताए ।

बत्ती जडान गर्न करिब २० लाख खर्च हुने अनुमान गरेको छ । यद्यपी सम्झौता भएपनि सम्झौता रकम भने क्लबले उल्लेख गर्न चाहेन ।

२५ औं संस्करणको आहा रारा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुने मिति तय भएको छ । क्लबले रजत जयन्ती फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने योजनासहित अघि बढेको छ । तीन विदेशी क्लब, आयोजक र अन्य ए डिभिजनका क्लबलाई प्रतियोगितामा समावेश गर्ने योजना क्लबको छ ।