अदालतद्वारा एन्फा निवार्चन रोक्न आदेश


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया उच्च अदालत पाटनले अस्थायी रूपमा रोेक्न आदेश जारी गरेको छ ।

अदालतले उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सुनुवाइ गर्दै निर्वाचन प्रक्रियामा तत्काल रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

एन्फाले माघ २८ गतेको निर्वाचनका लागि प्रतिनिधिको नाम पठाउन सदस्य संस्थाका नाममा पत्र काटेको थियो । माघ ३ गतेभित्र उम्मेदवारी दर्तासहित निर्वाचन तालिकासमेत सार्वजनिक गरेको थियो । पुस १६ गते बसेको एन्फा कार्यसमितिको बहुमतको निर्णयका आधारमा माघ २८ गते झापामा केन्द्रीय समिति निर्वाचित गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णयका विरुद्धमा एन्फाका केही पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) निवेदन दिएका थिए । एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो ।

राखेपले पुस २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न भन्दै पत्र काटेको थियो । त्यसका बाबजुद एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले रिट दायर गरेका थिए । खत्री एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको सचिवालयका पूर्व कर्मचारी हुन् ।

माघ ६ गते पेशी

अदालतले अन्तरिम आदेशको मागसम्बन्धी विषयमा दुवै पक्षलाई छलफलका लागि मिति माघ ६ गते पेशी तोकेको छ । सो मितिसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । साथै अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई म्याद सूचना जारी गर्न आदेश दिएको छ ।