काठमाडौं ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन मंगलबार पनि बन्दसत्र जारी छ। काठमाडौंको भृकुटीमण्डपमा भइरहेको बन्दसत्रसँगै संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच समानान्तर रूपमा वार्ता चलिरहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन नीति र नेतृत्व परिवर्तनको एजेन्डासहित अघि बढेपछि संस्थापन समूह वार्तामा आउन बाध्य भएको हो।
पछिल्ला दिनमा पार्टीभित्र देखिएको तीव्र आन्तरिक दबाब, प्रतिनिधिहरूको मत र बन्दसत्रको माहोलले सहमतिका लागि दुवै पक्षलाई संवादको टेबलमा ल्याएको नेताहरू बताउँछन्। वार्ताका क्रममा विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवासँग सहमतिका लागि ४ बुँदे प्रस्ताव अघि सारेका छन्। ती प्रस्तावमध्ये ३ बुँदे शर्तलाई मुख्य र निर्णायक मानिएको छ।
प्रस्तावअनुसार— 1. विशेष महाधिवेशनको सम्पूर्ण स्वामित्व संस्थापन पक्षले लिनुपर्ने। 2. विशेष महाधिवेशनमा प्रस्तुत भएका राजनीतिक, सांगठनिक तथा नीतिगत प्रतिवेदनलाई पार्टीको दीर्घकालीन पूँजीका रूपमा स्वीकार गर्नुपर्ने। 3. सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने वा सक्रिय राजनीतिबाट बिदा लिएको औपचारिक घोषणा गर्नुपर्ने। 4. यदि राजीनामा वा सक्रिय राजनीतिबाट बिदा लिने घोषणा नगर्ने हो भने आगामी निर्वाचनमा टिकट वितरण प्रक्रियामा सभापतिले हस्ताक्षर नगर्ने निर्णय गर्नुपर्ने।
बन्दसत्रमा प्रतिनिधिहरूले नेतृत्व हस्तान्तरण, पार्टीको भविष्य दिशा र संगठनात्मक सुधारका विषयमा तीव्र बहस गरिरहेका छन्। वार्ता सफल भए आजै सहमतिको खाका सार्वजनिक हुन सक्ने संकेत भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा कायम देखिएका छन्। पार्टीभित्रको यो शक्ति संघर्षले कांग्रेसको आगामी राजनीतिक यात्रालाई कुन दिशामा लैजान्छ भन्ने चासो बढ्दै गएको छ।











प्रतिक्रिया